
अमेरिकाकी भेनस विलियम्सलाई अस्ट्रेलियन ओपन टेनिसमा प्रतिस्पर्धाका लागि वाइल्डकार्ड प्रदान गरिएको छ ।
योसँगै ४२ वर्षीया भेनसले अर्को महिना वर्षको पहिलो ग्रान्डस्लाममा सहभागिता जनाउने छिन् ।
भेनसले २५ वर्ष अघि मेलवर्नमा डेब्यु गरेकी थिइन् । गत सिजन १३ प्रतिस्पर्धात्मक खेलमा तीनमा मात्रै जित हात पारेकी थिइन् ।
उनकी बहिनी सेरेना विलियम्सले सन्यास लिए पनि भेनसले भने कुनै संकेत गरेकी छैनन् । वाइल्डकार्ड प्राप्त गरेपछि भेनसले अस्ट्रेलियन समर्थकले सदैव आफूलाई साथ दिएको र उनीहरुको अघि खेल्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिएकी छन् ।
सात पटककी ग्रान्डस्लाम च्याम्पियन भेनसको अस्ट्रेलियन ओपनमा २२ औँ सहभागिता हो । उनी यसअघि सन् २००३ र २०१७ मा फाइनल पुगेकी थिइन् ।
सन् २०२२ मा चार प्रतियोगिता खेलेकी भनेस हाल वरियतामा एक हजार सात स्थानमा छिन् । उनले पछिल्लो पटक गत अगस्टमा युएस ओपन खेलेकी थिइन् । जसमा उनी पहिलो चरणबाटै बाहिरिन् ।
नौ पटक विजेता बनेका सर्वियाका नोभाक जोकोभिचले पनि यो पटक अस्ट्रेलियन ओपन खेल्ने भएछन् । गत सिजन कोभिड खोपका कारण उनलाई मेलवर्नबाट फर्काइएको थियो । अस्ट्रेलियन ओपन जनवरी १६ देखि सुरु हुनेछ ।