
सरकारी कागजात किर्ते गरेको अभियोगमा पक्राउ परेका महोत्तरीको मटिहानी मठका महन्थ जगन्नाथ दास वैष्णवलाई थप अनुसन्धान गर्न चार दिनको म्याद थप गरिएको छ ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेको उनलाई आरोप लागेको छ । शनिबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले महन्तलाई पक्राउ गरी आइतबार रुपन्देही प्रहरीलाई बुझाएको थियो ।
लिखतसम्बन्धी कसुरमा थप अनुसन्धान गर्न सोमबार जिल्ला अदालतबाट म्याद थप गरिएको हो । रुपन्देहीको भैरहवामा महन्तका नाममा रहेको करिब २ कठ्ठा ८ धुर जग्गा २०७६ वैशाख १६ गते बिक्री गर्दा गुठी संस्थानले जग्गामा आफ्नो दाबी गरेको थियो ।
संस्थानले मुद्दा लगाएपछि जग्गा र महन्तको बैंक खाता रोक्का थियो । उक्त मुद्दा अहिले सर्वोच्चमा विचाराधीन छ । महन्तले सरकारी कागजातमा किर्ते गरि रोक्का भएको खाताबाट ७० लाख ८३ हजार ५ सय १० रुपैयाँ निकालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
अवैध कारोबारमा संलग्न
महन्थ जगन्नाथ दास वैष्णव यसअघि पनि कारबाहीमा परिसकेको गुठी संस्थानले जनाएको छ । मठाधीशले गरेको अनियमितताबारे संस्थान र राज्यका निकाय जानकार भए पनि कारबाही गर्न नसकेको आरोप लाग्ने गरेको छ ।
महोत्तरी जिल्लाको मटिहानी मठ १२ सय विघा जग्गा भएको धनी मन्दिर हो । संरक्षणको अभावमा यसको धेरै जमिन अतिक्रमण र हिनामिना भएको छ । महन्थ जगन्नाथ दासले जग्गा लगायतको सम्पत्तिमा अनियमितता गरेको ठहर गर्दै गुठी संस्थानले उनलाई बर्खास्त गरेको जनाएको छ । उनका नाममा रहेको जग्गा र बैंक खाता पनि रोक्का गरिएको छ । गुठीको कारबाहीपछि सर्वोच्च अदालतले अन्तरिम आदेशसमेत जारी गरेको छ ।
मटिहानी मठको सयौं विगाहा जग्गा अनियमितता भएको तर दोषीमाथि कारबाही नभएको सरकारी छानबिनले पनि देखाएको छ । गुठीले मठको जग्गाबारे गरेको छानबिनमा महन्थ जग्गाको अवैध कारोबारमा संलग्न भएको देखाएको छ । बेचबिखन गर्न रोक लगाएको अवस्थामा समेत मठ मन्दिरको जग्गा हिनामिना हुने क्रम जारि रहेको अध्ययनले देखाएको छ ।
पुजारी महन्थलाई राजनीतिक र प्रशासनिक संरक्षण भएकाले कारवाही गर्न नसकिएको गुठी संस्थानका अधिकारीहरुको गुनासो छ । तर, संरक्षणको जिम्मा पाएको गुठीको बेवास्ताका कारणले पनि मठ मन्दिरको जमिन भूमाफियाको कब्जामा पुग्ने गरेको देखिन्छ ।