
फिल्म ‘तिम्रो मेरो साथ’को ट्रेलर सार्वजनिक भएको छ ।
पौषको २९ गतेबाट रिलिज हुने फिल्म ‘तिम्रो मेरो साथ’को मंगलबार आयोजित पत्रकार सम्मेलनमा निर्माताले ट्रेलर सार्वजनिक गरेका हुन् । साम्राज्ञी शाह र पुष्पा खड्काको अभिनय रहेको फिल्म ‘तिम्रो मेरो साथ’को ट्रेलरमा ‘उतारचढावपूर्ण सम्बन्ध’ र रोमान्स, ड्रामा, थ्रीलर, बदला, नाटक देख्न सकिन्छ।
पछिल्लो समय रिलेसनसिपमाथि धमाधम फिल्म बनिरहेका छन्, ‘तिम्रो मेरो साथ’ यस्तै एउटा कथा हो जसले वर्तमान समय बाँचिरहेका चरित्रहरु किन खुशि छैनन् भन्ने उदाहरण पेश गर्छ । फिल्मको सार्वजनिक ट्रेलर हेर्दा दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ ।
पुष्प र साम्राज्ञीको रोमान्सबाट सुरु हुने ट्रेलर यी दुई पात्रको रोमान्स टुंगिएसँगै अन्त्य हुन्छ । बीचमा त्रिकोणात्मक प्रेमकथा, प्रेममा हुने बदला र धोकाको प्लट बुनिएको छ । सहरिया मध्यमवर्गको सम्बन्ध सरल छैन भन्ने थिम यसले पेश गर्छ ।

रमेश एमके पौडेल निर्देशित फिल्ममा पुष्प र साम्राज्ञीको अलावा सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्क बहादुर पुन खबपु लगायतको मूख्य भूमिका रहेको छ । यो निर्देशक पौडेलको निर्देशकिय डेव्यु फिल्म हो । ‘तिम्रो मेरो साथ’मा पौडेल स्वंयमको कथा, गीत र लगानी रहेको छ ।
फिल्मलाई सबिर श्रेष्ठ तथा बाबुराम निरौलाले मिलेर लेखेका हुन् । आर्यन फिल्मस् र बोधी एचडिको ब्यानरमा निर्माण भएको फिल्ममा पासाङ लामा निर्माता हुन भने निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल तथा सुधिर पराजुली सह-निर्माताका रूपमा रहेका छन् । फिल्मको कार्यकारी निर्माता सविर श्रेष्ठ हुन् ।
फिल्ममा शिव ढकालको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन, सुभाष भुषाल र योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ।