८ बैशाख २०८२, सोमबार

कोरोनाबाट मृत्यु हुनेको संख्या १३, एकै दिन दुई मृतक थपिए, कुल संक्रमित संख्या ३,२३५

coronavirus dead body

नेपालमा हालसम्म कोरोनाको कारण १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डोल्पाको जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षीय एक पुरुषको मृत्यु भएको ४ दिनपछि कोरोना संक्रमण पोजेटिभ रहेको पुष्टि भएको हो ।

गत जेठ १८ गते नेपालगञ्जबाट डोल्पा पुगेका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । उनी दमका रोगी भएकाले होम आइसोलेसनमा बस्न भनिएको थियो । होम आइसोलेसनमा भएकै बेला उनको जेठ २० गते मृत्यु भएको थियो ।

त्यस्तै सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा एक महिलाको मृत्यु भएको छ। डायलासिस अघि उनको आरडिटी रिपोर्ट नेगेटिभ आएको डायलासिस वार्डका व्यवस्थापक दीपक भट्टले जानकारी दिए।
मृर्गौला रोगबाट पीडित उनी सेती अस्पतालमा पहिलो पटक डायलासिस गराउनका लागि पुगेकी थिइन्।

डायलासिस वार्डमै मृत्यु भएपछि डायलासिस वार्ड सिल गरिएको छ। मृतक महिला यसअघि नेपालगञ्ज र काठमाडौँमा डायलासिस गराउँदै आएकी थिइन्।

नेपालमा आज (शनिवार) मात्र ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३२३५ पुगेको छ । हालसम्म ३६५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै आज मात्र थप ३२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।