
काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा आज बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ ।
बिहानैदेखि मौसम बिग्रिदा काठमाडौं उपत्यकाको भिजिबिलिटी २ किलोमिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भिजिबिलिटी कम हुँदा बिहानदेखि काठमाडौंसहित तराईका जिल्लामा हवाई उडानसमेत प्रभावित भएको छ । उडानहरु अवरुद्ध बन्दा यात्रा गर्नेहरुलाई भने असहज भएको छ ।
महाशाखाकी मौसमविद गंगा नगरकोटीका अनुसार हावाको गति न्यून भएकाले उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु/कुहिरो लागेको हो । यस्तै, पहाडी भूभाग तथा तराईमा पनि बाक्लो हुस्सु/कुहिरो लागेको छ ।
मौसमविद नगरकोटीले तत्काल मौसममा सुधार नहुने कान्तिपुर टेलिभिजनलाई जानकारी दिइन् । उनले दिउँसो उपत्यकासहित तराईमा तुवालो लाग्ने भएकाले मौसम सुधारको सम्भावना कम रहेको बताइन् ।
उनले भनिन्, ‘हावाको गति नभएकाले बिहानैदेखि हुस्सु/कुहिरो लागेको छ । काठमाडौं उपत्यकामा २ किमि मात्रै भिजिबिलिटी भएकाले हवाई उडानसमेत प्रभावित भएको छ ।’
हाल नेपालको पूर्वी भूभागमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि हुस्सुले ढाकेको छ ।
पानी पर्ने मौसमी प्रणाली विकास नहुँदा र हावाको गति नहुँदा हुस्सु/कुहिरोले आकाश ढाकेको मौसमविदको भनाइ छ । बाक्लो कुहिरोका कारण घाम लाग्न नपाउँदा काठमाडौं उपत्यकासहित देशभर ह्वात्तै जाडो बढेको छ । चिसोका कारण तराईको जनजीवन प्रभावित भएका संवाददाताहरुले बताएका छन् ।
बिहानीपख हुस्सु/कुहिरो लाग्ने र देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले महाशाखाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।