
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले आज (बिहीबार) पद तथा गोपनीयताको शपथ लिएका छन् । संसद् भवनमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सांसदहरुलाई शपथ गराए ।
शपथ लिन नवनिर्वाचित सांसद राष्ट्रिय पोसाक तथा आ-आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा सजिएर संसद् भवन पुगेका थिए ।
संसद सचिवालयका अनुसार २६ सांसदले विभिन्न १४ मातृभाषामा शपथ लिए । हिन्दीदेखि संस्कृतसम्मका भाषामा सांसदहरुले शपथ लिएका हुन् ।
तर शपथ ग्रहण समारोहमा भने ५ सांसद उपस्थित रहेनन् । संसद् सचिवालयका सह-प्रवक्ता दशरथ धमलाले भने, ‘पाँचजना माननीय सांसद् शपथ ग्रहण समारोहमा अनुपस्थित रहनुभयो ।’ सह-प्रवक्ता धमलाका अनुसार शपथ ग्रहण समारोहमा अनुपस्थित हुने सांसदहरुमा नेकपा एकीकृत समाजवादीका प्रेम आले, माओवादी केन्द्रका महेन्द्र राय यादव र रामकुमार राई, नेपाली कांग्रेसकी माया राई र निलम्बित सांसद टेकबहादुर गुरुङ शपथग्रहण समारोहमा अनुपस्थित रहे ।
प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक प्रणालीबाट निर्वाचित ११० गरी कुल २७५ सांसद छन् ।