
सगरमाथा लोकमार्गको फोक्सिन्टारस्थित सुनकोसी नदीको नवनिर्मित पुलमा आज (बिहीबार) बाट यातायात सञ्चालन भएको छ । ठेक्का लागेको झन्डै दश वर्षपछि पुलमा यातायात सञ्चालन भएको हो ।
वारिपारि सडक भए पनि पुल नहुँदा सर्वसाधारणलाई यात्रा कष्टकर बनेको थियो । पुलबाट यातायात सञ्चालन भएसँगै त्यहाँबाट उदयपुर र खोटाङ जोडिएको छ । उदयपुरको रौतामाई गाउँपालिका ५, आँपटार र खोटाङको खोटेहाङ गाउँपालिका ९, लिच्कीराम्चे जोड्ने उक्त पुलको ठेक्का २०६९ चैत २३ गते लागेको थियो ।
पुलको बेरिङकोट, एप्रोज रोडलगायत काम भने नसकी पुल सञ्चालनमा आएको हो । जनताको दबाबका कारण पुलको कामै नसकी यातायात सञ्चालन गरिएको पुल सेक्टर नम्बर-१ धरानका योजना प्रमुख प्रदीप भण्डारीले बताए ।
पुल सञ्चालन गर्न खोटेहाङ गाउँपालिका अध्यक्ष उदीमबहादुर राई, उपाध्यक्ष रुपेश राईलगायतको उपस्थिति थियो । काममा ढिलासुस्ती भएपछि जनताको मागबमोजिम पुलमा यातायात सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।
करिब १९ करोड ६० लाख रुपैयाँको लागतमा गौरी पार्वती वाईपी जेभीले २०७५ चैतमा सक्नेगरी ठेक्का लिएको थियो । अवको एक महिनाभित्रमा काम सक्ने निर्माण कम्पनीले जानकारी दिएको छ ।
