९ बैशाख २०८२, मंगलवार

कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजको अपराध कथा : ‘बिकनी किलर’ आज पनि धेरै देशको खोजी सूचीमा

cc29de4d26763991c92e18048b1663a3

सर्वोच्च अदालतले बुधबार दिएको एउटा आदेश, जसले नेपालमा १९ वर्षदेखि जेल जीवन बिताइरहेका एक कुख्यात अन्तर्राष्ट्रिय अपराधीलाई उन्मुक्ति दिएको छ । सायद भर्खरै किशोरावस्थामा हिँडिरहेका किशोर-किशोरीलाई चार्ल्स शोभराजको अपराध-कथा नौलो लाग्न सक्छ । नेपालमा जस्तै विभिन्न देशमा प्रायः महिलाको हत्या गर्दै हिँडेको हुनाले उनलाई ‘बिकनी किलर’ भन्ने गरिएको छ । चार्ल्स आज पनि धेरै देशमा खोजीको सूचीमा छन् । उनको अपराधमा आधारित फिल्मसमेत बनेका छन् ।

यिनै ७८ वर्षीय मुटुरोगी फ्रान्सेली नागरिक चार्ल्सलाई बुधबार सर्वोच्च अदालतले जेल मुक्त गर्न र १५ दिनभित्र स्वदेश फर्काइदिन आदेश दियो । सर्वोच्चको आदेशपछि कारागार प्रशासन बिहीबार दिनभर मुद्दा फरफारक गर्न सक्रिय देखियो । उनलाई कारागारबाट निकालेर शुक्रबार अध्यागमन विभाग पुर्‍याइने छ ।

काठमाडौंमा २०३२ सालमा अमेरिकन र क्यानेडियन महिलाको हत्या भयो । उनीहरुको शव भक्तपुरमा भेटियो । मनोहरा खोलामा शव भेटिएका तिनैलाई हत्या गरेको आरोपमा जिल्ला अदालत भक्तपुरले शोभराजलाई जन्मकैदको सजाय सुनाएको थियो ।

व्यक्ति हत्याका साथै राहदानीको दुरुपयोगको आरोपमा काठमाडौं जिल्ला अदालतले शोभराजमाथि अर्को मुद्दा चलाएको थियो । जिल्ला अदालत भक्तपुरले दुवै मुद्दामा एउटै सजाय जोडेर चार्ल्सलाई जन्मकैद अर्थात् २०८० साल असोजसम्म कारागारमा राख्ने फैसला गरेको हो ।

केन्द्रीय कारागार सुन्धाराको पनि कठोर स्थान गोलघरमा राखिएका बेला सर्वोच्च अदालतले उनलाई बूढो भएको, ९५ प्रतिशत सजाय काटिसकेको र मुटु रोगीसमेत रहेको भन्दै थुनामुक्त गर्न आदेश दिएको हो ।

आखिर नेपालमा १९ वर्ष कैद भोगेर अलालतबाट उन्मुक्ति पाएका चार्ल्स को हुन् ? कहानी उदेकलाग्दो छ ।

काठमाडौंको पाँचतारे होटेलमा क्यासिनो खेलिरहेको अवस्थामा ०६० सालमा पक्राउ परेका शोभराजले प्रहरीलाई आफू चार्ल्स शोभराज नभएर अर्कै व्यक्ति रहेको डकुमेन्ट देखाएका थिए । त्यसबेला उनलाई पक्राउ गर्न भूमिका खेलेका प्रहरीका एक अधिकारीका अनुसार पासपोर्ट फेरेर दोस्रोचोटि शोभराज नेपाल आउँदा प्रहरी र अदालत कहीँ पनि उनको डकुमेन्ट थिएन, सबै हराइसकेका थिए । तथापि प्रहरीले औंठाछापका आधारमा उनीमाथि अनुसन्धान गरेर मुद्दा ब्युँताएको ती प्रहरी अधिकारी सम्झन्छन् ।

भक्तपुर र काठमाडौंमा भएका दुई हत्याका घटनामा चार्ल्स १९ वर्षदेखि नेपालको जेलमा रहे । अन्ततः उनी ‘नेपालको एयरपोर्टबाट हात्ती छिराइदिन्छु’ भन्दै आएका चार्ल्स अन्ततः ५९ वर्षको उमेरदेखि ७८ वर्षको बुढ्यौलीसम्म जेल बस्न बाध्य भए ।

को हुन् शोभराज ?

चार्ल्स शोभराजको जन्म सन् १९४४ मा भएको हो । उनका बाबु भारतीय र आमा भियतनामी हुन् । उनकी आमाको भियतनाममा तैनाथ फ्रान्सेली सेनासँग प्रेम बस्यो । फ्रान्सेली सैनिकले चार्ल्स र उनकी आमालाई फ्रान्स लिएर गए । हुर्केपछि चार्ल्स पनि फ्रान्सको नागरिक बने ।

चार्ल्सको बाल्यकाल फ्रान्समै बित्यो । उनी करिब २० वर्षको उमेरमा चोरीको आरोपमा फ्रान्सको जेलमा पुगे । र, त्यहीँबाट सुरु भयो उनको अपराध यात्रा ।

कारागारबाट छुटेपछि उनले उच्च तहका व्यक्ति फसाउने धन्दा चलाउन थाले । चोरीको सजाय भुक्तान गरेर उनी कारागारबाट बाहिर त आए, तर अपराध कर्म गर्न छाडेनन् ।

फ्रान्समा अनेक अपराध गरेका चार्ल्स त्यसपछि भारत आए । त्यहीबीचमा उनले सेन्ताल नामकी महिलासँग बिहे गरे । भारतमै पहिलो सन्तान उषाको जन्म भयो । विवाहपछि उनीहरु दुवैजना मिलेर पर्यटकलाई लुट्न थाले । तिनै पर्यटकबाट लुटेको पासपोर्टमा अनेक देश घुम्न थाले । त्यसपछि झन् उनको अपराध कर्म बढ्न थाल्यो ।

चार्ल्स भारतमा रहेको फ्रान्सेली समाजसँग जोडिएका थिए । सन् १९७० मा चार्ल्सले भारतमा आफ्नो अपराध कर्म धेरै चलाइसकेका थिए । उनी गाडीको सौख भएकाहरुलाई कार बिक्री गर्न सक्रिय भए । पाकिस्तान र इरानबाट गाडी चोरी गरेर भारत ल्याउने र बिक्री गर्ने ।

यहीबीचमा उनी जुवा पनि खेल्न थाले । जुवामा धेरै हारेपछि उनले भारतको अशोका होटेलमा पनि चोरी तथा लुटपाट गरेको उनीमाथि अभियोग छ । होटेल लुटेपछि उनी दिल्लीबाट मुम्बई विमानस्थल पुगे । तर भन्सार कार्यालयले उनीमाथि शंका गर्यो । उनको झोला खानतलासी गर्दा लुटेको सामान भेटियो र प्रहरीले ती सामान नियन्त्रणमा लियो । चार्ल्स भने फरार भए । तर धेरै समय उम्किन सकेनन् । उनी तिहाड जेलमा पुगे ।

चार्ल्सले भारतको तिहाड जेलमा १२ वर्ष बिताए । त्यहाँबाट भागेका चार्ल्सलाई फ्रान्सकै एक भोजमा लागुऔषध उपलब्ध गराएको आरोप पनि थियो । थाइल्यान्डमा पनि उनीविरुद्ध लागुऔषध र हत्या आरोप थियो । जसमा उनलाई मृत्युदण्ड हुन सक्थ्यो ।

तिहाड जेलबाट भागे पनि चार्ल्स भारतमै फेरि पक्राउ परे । सन् १९७६ देखि १९९७ सम्म भारतीय कारागारमा बसे । त्योबीचमा पनि उनी सन् १९८६ मा जेलबाट भागे । तर फेरि पक्राउ परेर जेल सजाय भुक्तानपछि फ्रान्स गए ।

फ्रान्समा पनि उनी बसिरहन सकेनन् । सन् २००३ मा उनी पहिचान बदलेर नेपाल आए । नेपालमा उनलाई दुई महिलाको हत्या अभियोगमा जन्मकैदको सजाय सुनाइएको थियो । उनी क्यासिनो खेलिरहेका ठाउँबाट समातिए ।

चार्ल्सको अपराध यात्रा

चार्ल्स शोभराजको अपराध यात्रा विभत्स छ । उनले सन् १९७५ भारतीय नागरिक अजय चौधरीसँग मिलेर थाइल्यान्डमा एक महिलाको हत्या गरेको अभियोग छ । थाइल्यान्डमा एक पर्यटक मृत भेटिएकी थिइन् ।

सन् १९७० कै दशकमा दक्षिण-पूर्वी एसियामा मात्रै १२ विदेशी पर्यटकको हत्या गरेको उनीमाथि आरोप छ । चार्ल्सले महिलाहरुलाई पानीमा डुबाएर, घाँटी थिचेर अथवा ज्युँदै जलाएर हत्या गरेको आरोप लाग्दै आएको छ । नेपाल भारत र थाइल्यान्डमा प्रायः उनका महिला साथी थिए ।

आफ्नो व्यक्तित्वबाट महिलालाई प्रभावित पार्ने र आकर्षित गरेर नजिक ल्याउने उनको शैली थियो । उनी नजिक आएका महिलालाई लागुऔषध दिने र तिनै महिलाको हत्या गरेर, कागजात लिएर हिँड्थे ।

२०३२ सालमा शोभराज प्रेमिकासहित थाइल्यान्ड गए । त्यहाँ उनले एक डच दम्पतीको हत्या गरे । मारिएकामध्ये श्रीमानको पासपोर्ट आफूले र श्रीमतीको पासपोर्ट प्रेमिकालाई प्रयोग गर्न दिएर सोही साल मंसिर अन्तिम सातातिर शोभराज नेपाल आए । झोंछेको एक होटेलमा उनीहरु थाइल्यान्डमा मारिएकै व्यक्तिको परिचयमा बस्न थाले ।

सोही होटेलमा बसेका बेला उनीहरुको एक अमेरिकन महिला कोन्नी जो ब्रोन्जिज र क्यानेडिन पुरुष क्यारियरे लरेन्टसँग चिनापर्ची भयो, जो दुवैजना नेपालमा मुगाको व्यापार गर्थे । शोभराजले आफूलाई मुगाको कारोबारमा रुचि रहेको भन्दै लोभ्याए ।

त्यसको केही सातापछि पुस ६ गते भक्तपुरको साँगामा क्यानेडियन नागरिकको शव फेला पर्यो । कोन्नीको शव पुस ८ गते मनोहरा खोला किनारमा शव भेटियो ।

झोंसेको होटेलमा बस्ने दुई विदेशी नागरिकको हत्यापछि शोभराजले आफू बसेको होटेल परिवर्तन गरेर विभिन्न तारे होटेलमा सर्दै बस्न थालेको प्रहरीको अनुसन्धानमा देखिन्छ । रोचक त के छ भने यहीबीचमा उनी नेपालमा मारिएका विदेशी नागरिककै पासपोर्ट बोकेर थाइल्यान्ड घुमेर काठमाडौं फर्कंदा पनि प्रहरीले पत्तै पाएन ।

थाइल्यान्डबाट फर्केको केही समयपछि उनी नेपाल प्रहरीले समात्ने सुइँको पाएपछि भारतरतिर पसे । तर, नेपालमा उनीमाथि प्रहरी अनुसन्धान सकिएको थिएन । थाइल्यान्डमा पनि दम्पती हत्या गरेर आएको हुनाले खोजीको सूचीमै थिए । हत्या गरिएका व्यक्तिको पासपोर्ट बोकेर नेपाल बसेको व्यक्ति शोभराज नै इन्टरपोलको अनुसन्धानबाट खुलिसकेको थियो ।

भारतीय जेलको किस्सा !

भारतमा शोभराजले ७० को दशकमा चोरी डकैती सुरु गरे । इरान, अफगानिस्तान र पाकिस्तानबाट चोरीका गाडी ल्याएर बेच्न थाले । सन् १९७६ मा उनी चोरीको आरोपमा पक्राउ परे । १२ वर्ष कैद सजाय सुनाइएका चार्ल्स कैद भुक्तान हुनुभन्दा दुई वर्षअगावै सन् १९८६ मा तिहाड कारागारबाट भाग्न सफल भए ।

थाइल्यान्ड र भारतबीच सुपुर्दगी सन्धिबमोजिम आफूलाई भारतले थाइल्यान्डमा बुझाउन लागेको थाहा पाएपछि उनी मृत्युदण्डबाट जोगिन जेलबाट भागेका हुन् ।

चार्ल्स फिल्मी शैलीमा त्यहाँको जेलबाट भागेको किस्सा रोचक छ । जेलमा जन्मदिन मनाएका उनले खुवाएको खानेकुराले सबै बेहोस भएपछि उनीसहित केही कैद भागेका थिए ।

तिहाडबाट भागे पनि मुम्बईमा फेरि पक्राउ परेका शोभराज एपेन्डिसाइड भएर पेट दुखेको बहाना बनाएर त्यहाँबाट पनि भागे । भारतको सबैभन्दा सुरक्षित मानिएको ऐजिना टापुस्थित जेलबाट समेत उनी भाग्न सफल भए । हुन त उनलाई भारतीय प्रहरीले फेरि नसमातेको होइन, तर सुरक्षाकर्मीलाई नशालु पदार्थ खुवाएर फेरि फरार भए । भारतमा उपद्रो मच्चाएर सन् २००३ (वि.सं. २०६० भदौ) मा उनी नेपाल पसे ।

नेपालमा कसरी पक्राउ परे ?

२०३२ सालमा नेपालको भक्तपुरमा दुई विदेशी महिलाको शव भेटियो । अर्धनग्न अवस्थामा भेटिएको विदेशीको शवले नेपालमा अनुसन्धान जटिल थियो । रहस्यमय हत्या गरिएका तिनै महिलाको राहदानीमा फोटो परिवर्तन गरेर आरोपी फरार भएको तथ्य फेला पर्यो ।

त्यसैका आधारमा शोभराजविरुद्ध अदालतमा मुद्दा चलिसकेको थियो । २०६० सालमा तिनै व्यक्ति नेपाल आए, जसको सर्वाधिक खोजी भइरहेको थियो । २०६० साल असोजमा दी हिमालयन पत्रिकामा चार्ल्स शोभराज नेपालमै रहेको फोटोसहित समाचार छापियो । त्यसैले प्रहरीलाई अनुसन्धान गर्न सजिलो र बाध्य बनायो । तत्कालीन अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय काठमाडौंले टोली बनाएर खोजी गर्यो ।

ठमेल क्षेत्रमा नभेटिएपछि उतिबेला सबैभन्दा धेरै विदेशीहरु क्यासिनो खेल्न जाने गरेको ठाउँमा प्रहरीले निगरानी बढायो । प्रहरीसँग चार्ल्सको गतिलो फोटोसमेत थिएन । जुवाका पारखी चार्ल्स आखिर रोयल क्यासिनोमा प्रवेश गरेको खबर आयो । त्यसैका आधारमा उनी पक्राउ परे । तर, उनी पर्यटकमाथि दुर्व्यवहार भएको भन्दै बिच्किए ।

नेपालमा पक्राउ पर्दिनँ भन्ने आत्मविश्वाससहित आएका उनले किताब लेखाउने उद्देश्यले आएको प्रहरीलाई बताए । आफू पहिलोपटक नेपाल आएको भन्दै उनले उम्किने बाटो खोजे । तर, प्रहरीले विदेशी पर्यटक मारेकोसम्बन्धी सम्पूर्ण फाइल खोजी गर्यो ।

घटना २०३२ सालको पुरानो भएकाले प्रमाण भेट्न मुस्किल थियो । अपराधीको तथ्यांक राख्ने प्रहरीको १० नम्बर डायरीमा चार्ल्स गुरुमुख नाम भेटियो, जसको मुद्दा जिल्ला अदालतमा गइसकेको थियो । त्यसैका आधारमा जिल्ला अदालतमा मिसिल खोजी गर्दा चार्ल्स नै नेपाल आएको प्रमाण भेटियो । उनीसँगै झोछेँको होटेलमा कोन्नी जो ब्रोन्जिज र क्यानेडियन नागरिक बसेको पुष्टि भयो । जसको शव भक्तपुरको मनोहरा खोला र साँगामा फेला परेको थियो । तिनको हत्या शोभराजले नै गरेको तथ्य फेला पर्यो ।

हत्याको करिब ३० वर्षपछि नेपाल आउँदा पक्राउ परेका चार्ल्स अन्ततः १९ वर्ष लामो जेल सजायबाट मुक्त भएका छन् । थाइल्यान्ड, भारत, टर्की, इरानलगायत मुलुकमा गरी झन्डै २० भन्दा बढी महिलाको हत्या गरेको उनीमाथि आरोप छ । जेलबाट समेत भाग्न सफल शोभराजको जीवनमा आधारित ‘मै और चार्ल्स’ नामको भारतीय सिनेमासमेत बनेको छ । उनका नाममा अन्य फिल्महरु पनि बनेका छन् । नेपालबाट छुट्ने खबर आउँदा चार्ल्सबारे संसारभरका मिडियामा समाचार छापिएका छन् ।

    सम्बन्धित समाचार...