७ बैशाख २०८२, आईतवार

हिंसा बढ्दै गयो, महिला आयोगले काम गर्नै सकेन : मन्त्री रेग्मी

Uma Regmi

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले राष्ट्रिय महिला आयोगको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेकी छन् ।

महिला आयोग आफैं आन्तरिक द्वन्द्वमा फसेर काम गर्न नसक्नु बिडम्वनाको कुरा भएको उनको टिप्पणी थियो । सिंहदरबारस्थित आफ्नै मन्त्रालयमा शुक्रबार पत्रकार भेटघाट आयोजना गरी मन्त्री रेग्मीले महिला हिंसा बढ्दै जानु तर महिला आयोगले काम गर्न नसक्नु दुःखद् भएको गुनासोसमेत गरिन् । उनले मन्त्रालयमा बजेट नभएकाले हिंसापीडित महिलाहरुलाई आर्थिक सहायता दिन नसकेको स्पष्ट पारिन् ।

मन्त्री रेग्मीले आगामी आर्थिक वर्षको बजेटमा भने महिला हिंसाका लागि आवश्यक बजेटको व्यवस्था हुने गरी आफूले योजना तय गरेको दाबीसमेत गरिन् । उनले भनिन्, ‘महिला आयोग त आफैं आन्तरिक द्वन्द्वमा फसेर कति काम गर्नुस् भनेर हामीले छलफल गर्दा पनि त्यहाँबाट काम काम हुन सकेको छैन । त्यो बिडम्बनाको कुरा हो । तर मैले तपाईंहरुलाई पैसाको सवालमा चाहिँ के भन्नुपर्छ भने मन्त्रालयको बास्केटमा एक सुका पनि पैसा छैन । अबदेखि महिला हिंसापीडितका लागि पैसा राख्न हुन्छ । आगामी बजेटमा थोरै बास्केट फन्ड पनि हुन्छ । ताकि त्यस्ता पीडित महिलाहरुका लागि दिन सकियोस् । अन्यथा एउटा एकदमै अप्ठ्यारो परेको महिला आउनुभयो भने पनि पकेटबाट दुई पैसा दिनुबाहेक मन्त्रालयसँग एक पैसा पनि छैन । पैसा नै नभएपछि कसरी पीडितलाई राहत दिने ?’

मन्त्री रेग्मीले आफूले महिला मन्त्रालयको बजेट दोब्बर वृद्धि गर्ने काम गरेको पनि बताइन् । ८० करोडभन्दा बढी बजेट नभएको मन्त्रालयका लागि चालु आवमा एक अर्ब ७८ करोड पुर्‍याइएको पनि उनले बताइन् । मन्त्री रेग्मीले ८० प्रतिशत जनसंख्यालाई प्रतिनिधित्व गर्ने आफ्नो मन्त्रालयका लागि अझै पनि बजेटको अभाव रहेको र सोही कारण पीडितको मागलाई सम्बोधन हुने गरी काम गर्न सक्ने अवस्था नरहेको स्पष्टीकरणसमेत दिइन् । ‘यो मन्त्रालयमा म आउँदा जम्मा ८० करोड बजेट थियो । तर अरु मन्त्रालयमा ८० अर्बसम्म बजेट छ । जनसंख्याका हिसाबले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, यौनिक अल्पसंख्यक गर्दा लगभग ८० प्रतिशत जनसंख्याको अभिभावकीय मन्त्रालय यो हो,’ उनले भनिन्, ‘तर बजेट नै नभएपछि जति काम गर्छु भने पनि कहाँ सकिन्छ र ? त्योचाहिँ असाध्यै अप्ठ्यारो पाटो थियो । तर मैले यो मन्त्रालयलाई अर्बको मुख देखाउन सफल भए । एक अर्ब ७८ करोड बजेट वृद्धि गरेर पुर्‍याइएको छ । त्यो पनि न्यून बजेट हो । तर डबल भने पुर्‍याइएको छ ।’

त्यस अवसरमा मन्त्री रेग्मीले आफूले मन्त्री भएर आएपछि नै महिला मन्त्रालयमा ‘महिला पहिला’ अभियान, महिला सुरक्षा कार्यक्रमजस्ता नयाँ काम सुरु भएको बताइन् ।

    सम्बन्धित समाचार...