८ बैशाख २०८२, सोमबार

प्रधानमन्त्रीकै आग्रहमा राजीनामा दिएनँ : पर्यटनमन्त्री श्रेष्ठ

JibanRam Shrestha

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकार आफ्नो दायित्वबाट पन्छिन नमिल्ने भन्दै चुनाव हारे पनि राजीनामा नदिएको बताए ।

मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले प्रतिनिधिसभा सदस्य निर्वाचन हारेपछि आफूले राजीनामा दिन प्रधानमन्त्रीलाई भेटे पनि प्रधानमन्त्रीले सरकार आफ्नो दायित्वबाट पन्छिन नमिल्ने भन्दै राजीनामा नदिन आग्रह गरेको बताए । उनले प्रधानमन्त्रीकै आग्रहमा आफूले राजीनामा नदिएको स्पष्ट पारे । उनले अहिलेको सरकार चुनावी सरकार भएकाले नैतिकवान् बनेर नै अर्को सरकारलाई सत्ता हस्तान्तरणपछि बिदा हुने बताए । उनले नैतिक विषय उठाएर राजीनामा दिँदा सरकारमा आउने चापको महत्त्वलाई हेरेर आफ्नो दायित्व पूरा गरेको बताए ।

‘चुनाव हारिसकेपछि राजीनामा नगरी किन बसेको भन्ने प्रश्न छ, यो नेपाली समाज र राजनीतिमा बहसको विषय छ । हामी नैतिकवान् हुनुपर्छ त्यसमा कुनै बहस छैन । तर हामी चुनावी सरकारका रुपमा आएकाले हामीले अब बन्ने नयाँ सरकारलाई हस्तान्तरण गरेर मात्रै बिदा हुने हो । यो हाम्रो जिम्मेवारी हो । सबैले नैतिकता भनेर छोडेर हिँड्यो भने त्योबीचमा पर्नसक्ने समस्या हेरेर हामीले निर्णय लिनुपर्छ,’ उनले भने, ‘अन्य बेलाको भए त्यसमा बहस हुन्थ्यो । हामीले राजीनामा दिएर हिँड्दा दायित्वबाट पन्छिएको जस्तो हुन्छ । मैले हारिसकेपछि राजीनामा दिन्छु भनेर प्रधानमन्त्रीलाई पनि भेटेको थिएँ । तर उहाँले चुनावी सरकारले नयाँ सरकारलाई हस्तान्तरण गरेर मात्रै बिदा हुने हो दायित्व पूरा गर्नुपर्छ भन्नेकुरा गरेपछि नै म बसेको हो । संविधानले पनि यही परिकल्पना गरेको छ ।’

मन्त्री श्रेष्ठले चुनावी सरकारले नयाँ बन्ने सरकारलाई जिम्मेवारी हस्तान्तरण गरेपछि नै आफ्नो दायित्व पूरा हुने कुरा संविधानले परिकल्पना गरेको दाबीसमेत गरे ।

    सम्बन्धित समाचार...