८ बैशाख २०८२, सोमबार

बैठकपछि सञ्चारमन्त्री कार्की भन्छन्- देउवाले सत्तारुढ गठबन्धन जोगाउनुहुन्छ

Gyanendra Karki

प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारुढ गठबन्धन जोगाइ राख्न सफल हुने विश्वास सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले व्यक्त गरेका छन् ।

बालुवाटारमा आइतबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बाहिरिएपछि कांग्रेस नेतासमेत रहेका मन्त्री कार्कीले यस्तो विश्वास व्यक्त गरेका हुन् । उनले गठबन्धन मुलुकको आवश्यकता भएकाले त्यसलाई जोगाएर अघि बढन आफूहरु निरन्तर प्रयासरत रहेको समेत बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पहिलोपटक आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने अडानमा प्रधानमन्त्री देउवा सहमत नभएपछि आजको बैठकबाट दाहाल बाहिरिएका थिए । तर सञ्चारमन्त्री कार्कीले फेरि केहीबेरपछि बैठक बस्ने र सहमति हुने दाबी गरे ।

‘गठबन्धन अहिले मुलुकको आवश्यकता हो । छलफल जारी छ । केही समयपछि फेरि बैठक सुरु हुन्छ । र, हामी एउटा निर्णयमा पुग्छौं । गठबन्धन मुलुकको आवश्यकता हो । यसलाई जनताले अनुमोदन पनि गरिसकेका छन । र, जनताको जुन अभिमत छ । त्यसलाई कदर गर्दै हामी अगाडि बढछौं,’ उनले भने, ‘अब आन्तरिक छलफलको पनि जरुरी छ । अझै छलफलको आवश्यकता भएकाले छलफल जारी छ । हामी गठबन्धनलाई जोगाइ राख्न गठबन्धनको आवश्यकता महसुस गरेका छौं । र, सम्माननीय प्रधानमन्त्रीजीले निरन्तर छलफल गरेर एउटा निष्कर्षमा पुर्‍याउनु हुनेछ भन्ने विश्वास म तपाईंहरुलाई व्यक्त गर्न चाहन्छु । आफ्नो आफ्नो दलमा पनि छलफल हुन्छ । सबै कुरा अन्तिम घडीमा हुन्छ ।’

मन्त्री कार्कीले सबै कुरा अन्तिम समयमा हुने नेपाली राजनीतिको परम्परा भएको उल्लेख गर्दै अन्तिममा आएर सबै कुरा मिल्ने बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेको एक साताको समय आजै अपराह्‌न ५ बजे सकिँदै छ ।

    सम्बन्धित समाचार...