
जनता समाजवादी पार्टी (जसपा) ले आइतबार साँझ दल दर्ता गरेको छ। नेतृत्व विवादले दर्ता हुन नसकेको जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहनेगरी सहमति भएपछि दल दर्ता भएको हो।
आइतबार वरियता विवाद मिलेपछि निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता भएको हो। निर्वाचन आयोगमा दर्ता गर्नुअघि बाबुराम भट्टराईलाई दोस्रो वरियताको अध्यक्ष बनाइएको भए पनि निर्वाचन आयोगमा पुग्दा भने उनको नाम ‘टिपेक्स’ले मेटेर बाबुरामलाई अशोक राई भन्दा तल चौथो क्रमको वरिष्ठ नेताको रुपमा नाम राखिएको छ।
सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति जुटेको थियो । तर नेतृत्वमा सहमति जुट्न नसक्दा जसपा निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन ।
दल दर्ताका लागि पाएको समयको अन्तिम दिन आइतबार पार्टी पदाधिकारीबारे सहमति जुटेपछि दल दर्ता गरिएको हो ।
पार्टी दर्ता गर्दा पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन्। शनिबार र आइतबार दुई दिनसम्म चलेको छलफलपछि पार्टी दर्ता भएको हो।
कार्यसमिति र केन्द्रीय नेतृत्वको वरियतामा सहमति गरेर कागज तयार गर्दा महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादवलाई अध्यक्ष बनाइएको थियो। निर्वाचन आयोगमा दर्ता गर्दा भने बाबुराम भट्टराईलाई अशोक राई पछिको वरिष्ठ नेता बनाइएको छ। अर्को वरिष्ठ नेतामा राजेन्द्र महतोको नाम रहेको छ।
जसपाका नेता केशव झाले आयोगमा १३५२ नम्बरमा दल दर्ता भएको बताए। तर, आइतबार दिउँसो भएको सहमति भने उल्टिएको छ। जसपामा बाबुराम भट्टराईलाई पहिलो वरियतामा राख्ने र तीन जना अध्यक्ष रहने सहमति भएको थियो।
आयोगमा दल दर्ता गर्दा भने भट्टराईको वरियता चौथो नम्बरमा राखिएको छ। भट्टराई भन्दा माथि अशोक राईलाई राखिएको छ। पाँचौं नम्बरमा राजेन्द्र महतो रहने भएका छन्।
