
अछामको बयलपाटा अस्पतालका एक कर्मचारीले आज (सोमबार) आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् ।
सोमबार बिहान उनले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएको अछाम प्रहरीले जनाएको छ। अस्पतालको सेवाबाट निकालिएका २७ वर्षका सफाइ कर्मचारी सिद्धार्थ आहुजीले सोमबार विहान शरीरमा आगो लगाई आत्महत्याको प्रयास गरेका हुन् । तर तत्काल स्थानीय कर्मचारी, प्रहरी र स्थानीयले आगो निभाएर उनलाई बचाएका थिए ।
प्रहरीका अनुसार साँफेबगर नगरपालिकाका ती कर्मचारीले अस्पतालको गेट अगाडि आफैँलाई आगो लगाएका हुन्। आगो लगाएका ती कर्मचारीको थप उपचारका लागि हेलिकोप्टर मार्फत कोहलपुर ल्याइएको छ।
प्रहरीका अनुसार ती युवा अस्पतालमा सफाइ कर्मचारीका रुपमा कार्यरत थिए।
अस्पतालले केही समयअघि ती कर्मचारीसहित ३३ जनालाई आर्थिक संकट परेको भन्दै हटाएको थियो। त्यही तनावका कारण उनले अस्पताल परिसरमा आफैँलाई आगो लगाएको हुनसक्ने प्रहरीको अनुमान छ।