
नेपालमा कोरोना भाइरस कोभिड १९ का कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
स्याङ्जाका एक पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । वालिङका ती ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण रहेको आइतबार साँझ मात्रै पुष्टि भएको थियो । उनी जेठ २१ गते राति भारतबाट वालिङ आइपुगेका थिए । वालिङ नगरपालिकाको पहलमा उनलाई जेठ २१ गते राति अबेर वालिङ ल्याइएको थियो ।
मिर्गौला उपचारका लागि उनी छ महिना अघि भारत गएका थिए । उपचारकै क्रममा भारतमा लकडाउन सुरु भएपछि उनी सुनौली नाकामा अलपत्र परेका थिए ।
संक्रमितको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो। पोखरास्थित गण्डकी प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उनको सोमबार बिहान निधन भएको हो ।
२२ जेठमा अस्पताल भर्ना भएका ती संक्रमितमा मिर्गौला, मधुमेह लगायत रोग थिए।