
मुखैमा आएको सत्ता गुमाएपछि संघमा मात्र होइन, सातै प्रदेशमा प्रतिपक्षीको भूमिकामा पुगेको नेपाली कांग्रेसभित्र विवाद चुलिएको छ । विशेष गरेर कांग्रेसमा सभापति शेरबहादुर देउवाको आलोचना हुने क्रम बढेको छ । सभापति देउवाको एकल निर्णय गर्ने बानीकै कारण सबै उपलब्धि गुमेको टिप्पणी कांग्रेस नेताहरुले गरिरहेका छन् ।
नेपाली कांग्रेसको विधानले महत्त्वपूर्ण निर्णय गर्नुअघि पार्टी पदाधिकारी, केन्द्रीय कार्य सम्पादन समिति हुँदै केन्द्रीय कार्यसमिति बैठकमा छलफल गर्नुपर्ने भनेको छ । पार्टीको विधानले सामूहिक निर्णयको व्यवस्था गरेको छ । एकल निर्णयबाट हुन सक्ने त्रुटि कम गर्न सामूहिक निर्णयको व्यवस्था गरिएको हो । तर, कांग्रेसमा सामूहिक छलफल गरेर निर्णय गर्ने परिपाटीको अभ्यास नै छैन । त्यही गलत अभ्यासले कांग्रेसका नेता कार्यकर्ता अहिले टाउकोमा हात राखेर बसिरहेका छन् । निर्वाचनपछि सबैभन्दा ठूलो दल भएर पनि कांग्रेस संघ र सातवटै प्रदेशमा प्रतिपक्षमा बस्नुपर्ने छ । मुखैमा आएको राष्ट्रपति, सभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्रीलगायत महत्वपूर्ण पद गुमाउनका साथै कांग्रेसले कार्यकर्ताको उत्साह पनि गुमाएको छ । यसको प्रमुख कारण सभापति देउवाले गरेको एकल निर्णयलाई नै मानिएको छ ।
सभापति देउवाले कुनै पनि निर्णय गर्दा पार्टी पदाधिकारीमा समेत छलफल गरेनन् । त्यही कारण मुखैमा आएको उपलब्धि गुमेको बुझाइ नेताहरुको छ ।
राजनीतिक दलहरुले लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन विधान बनाएका हुन्छन् । पार्टी त्यही विधानअनुसार निर्देशित हुन्छ । तर व्यक्तिगत लाभका लागि गरिने निर्णयले सिंगो पार्टीलाई क्षति पुगेको छ । कांग्रेसले यही पुस २२ गते केन्द्रीय समिति बैठक बोलाएको छ । बैठकमा सरकार गठनका विषयमा सभापतिले गरेको निर्णयबारे सघन छलफल गर्ने तयारी सदस्यहरुको छ ।