१० बैशाख २०८२, बुधबार

समर्थन जनाएका तीन साना दललाई मन्त्री छान्नै सकस : आ-आफ्नै सर्त, आ-आफ्नै अन्योलता

3 sana party

सरकारलाई समर्थन जनाएका तीन साना दलले अहिलेसम्म मन्त्रीको नाम तय गर्न सकेका छैनन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागिताको पूर्वसर्तका रुपमा पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा र नोटमा पृथ्वी नारायण शाहको तस्बिर अंकित गर्नुपर्ने सर्त अगाडि सार्न लागेको छ भने नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइलाई पूर्वसर्त बनाएको छ । जसपाले भने संसदीय दलको नेता नै छान्नै सकेको छैन ।

राप्रपा सरकारमा जाने नजाने भन्ने अन्योलका बीच नेतृत्वले पूरा गर्न सकिने केही माग राखेर सरकारमा जाने मनस्थिति बनाएको हो ।

सांसद ज्ञानेन्द्र शाहीलगायतका केही नेता भने सरकारमा जाँदा पार्टीले संघीयता र धर्म निरपेक्षता खारेजी, हिन्दु राष्ट्र स्थापनाको मुद्दा नबिर्सिन नेतृत्वलाई दबाब बढाएका छन् । जितेका केही सांसदले भने समर्थन गरिसकेपछि सरकारमा सहभागी हुन नेतृत्वलाई दबाब दिएका छन् । राप्रपाले सरकारमा सहभागिताबारे छलफल गर्न बुधबार केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टीले संसदीय दलको नेता समेत चुन्न सकेको छैन । उपेन्द्र यादव प्रतिनिधिसभा चुनावमा पराजित भएपछि दोस्रो तहका नेताहरू संसदीय दलको आकांक्षी देखिएका छन् । अशोक राई र रामसहाय यादव र राजकिशोर यादव दलको नेताका लागि आकांक्षी देखिएका छन् । जसपाले गठन गरेको निर्वाचन समितिले बुधबार दलको नेता चुन्ने जनाएको छ ।

सरकारलाई समर्थन गरेको अर्को दल उन्मुक्ति पार्टीले भने टीकापुर घटनामा संलग्न भएको अभियोगमा कैदमा रहेका रेशम चौधरीलगायतको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग सम्बोधन नभए सम्म सरकारमा नजाने अडान जारी राखेको छ ।

    सम्बन्धित समाचार...