९ बैशाख २०८२, मंगलवार

‘सरकारमा नजाँदैमा कांग्रेस खुम्चियो, कमजोर भयो भन्ने मानसिकता कसैले नराखे हुन्छ’

Shekhar Koirala
फाइल फोटो

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशको आर्थिक अवस्था दयनीय रहेको भन्दै अहिलेको सरकारले आर्थिक, राजनीतिक र सामाजिक स्थिरता दिनुपर्ने बताएका छन् ।

कोइरालानिवास विराटनगरमा नवचिर्वाचित प्रदेश सांसदहरुको चियापान समारोहमा कोइरालाले देशको आर्थिक अवस्था जटिल मोडमा पुगेको बताए ।

उनले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकोले सरकार गम्भीर भएर अगाडि बढनुको विकल्प नरहेको स्पष्ट पारे । सन् २०२३ मा विश्वभरि नै आर्थिक संकट बढ्दै जाने अर्थविद्हरुको प्रक्षेपण रहेकाले त्यसको असर नेपालका आमसर्वसाधारण पर्ने भएकाले आर्थिक क्षेत्रमा देखिएका अप्ठयारा र संकटलाई यसअघि पनि अर्थमन्त्री भइसकेका विष्णु पौडेलले समाधान गर्छन् भन्ने विश्वास लिएको उनको भनाइ थियो ।

कांग्रेस नेतृत्वको कमजोरी र माओवादीका अध्यक्ष पुष्पकमल दाहालको पदीय आशक्तिका कारण गठबन्धन टुटेको बताए । उनले अब कांग्रेस प्रतिपक्षमा पुगेकाले सदन र सडक दुवै ठाउँबाट देश र जनताको हितमा काम गर्ने बताए ।

सरकारमा नजाँदैमा कांग्रेस खुम्चियो, कमजोर भयो भन्ने मानसिकता कसैलाई पनि नराख्न उनले आग्रह गरे । उनले भने, ‘सरकारमा नजाँदैमा कसैले पनि कांग्रेस खुम्चियो, कमजोर भयो भन्ने मानसिकता नराख्दा हुन्छ ।’