
लमजुङको मर्स्याङदी गाउँपालिकाले आउँदो चार वर्षभित्रमा बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
सामाजिक विकास कार्यालय लमजुङले गाउँपालिकामा आयोजना गरेको एक कार्यक्रममा बालमैत्री स्थानीय शासन प्रवद्र्धन तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाले पालिकालाई बालमैत्री पालिका घोषणा गर्ने प्रतिबद्धता जनाएको हो ।
उक्त कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा सरोकारवालाहरूले २०८३ पुुस सम्म मर्स्याङदी गाउँपालिकालाई बालमैत्री पालिकाको रुपमा स्थापित गर्ने हस्ताक्षर सहित प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उक्त कार्यका लागि गाउँपालिकाले आवश्यक वजेट विनियोजन सँगै स्रोत साधन परिचालनसमेत गर्ने भएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । उनका अनुसार बालमैत्री पालिका घोषणा र कार्यान्वयनका लागि सवैको साथ र सहयोग आवश्यक पर्दछ हामी त्यो वातावरण बनाउन प्रतिवद्ध छौं ।
‘स्थानीय सरकार संचालन ऐन २०७४, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ बमोजिम बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणाको प्रक्रियामा आआफ्नो क्षेत्रबाट सक्रिय तथा अर्थपूर्ण सहभागिता जनाई मिति २०८३ पुष मसान्त भित्र मर्स्याङदी गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिने’ उल्लेख छ ।