९ बैशाख २०८२, मंगलवार

पोलिटब्युरो बैठक बस्दै एकीकृत समाजवादीको, सरकारमा जानेबारे आज टुंगो लगाउने

madhav

सरकारमा जाने कि नजाने भन्ने विवादका कारण अनिर्णीत बनेको नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज (सोमबार) बस्दैछ ।

पार्टी कार्यालय आलोकनगरमा बिहान ११ बजे पोलिटब्युरो बैठक बस्ने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । पोलिटब्युरो बैठकले सरकारमा सहभागी हुने/नहुनेबारे निर्णय गर्ने जानकारी दिइएको छ ।

यसअघि शनिबार र आइतबार दुई दिन भएको स्थायी कमिटी बैठकले निर्णय लिन नसकेपछि पोलिटब्युरो बैठक बोलाइएको हो ।

स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने/नहुने टुङ्गो लगाउन नसकेपछि पोलिटब्युरो बैठक बोलाउने निर्णय भएको उपमहासचिव खतिवडाले जानकारी दिए । स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले सरकारलाई समर्थन गर्नु धारणा राखेका थिए । केही सदस्यले तत्काल सरकारमा सहभागी हुनुपर्ने भन्दै दबाबमुलक धारणा राखेपछि पार्टी नेतृत्व अफ्ठ्यारोमा परेको छ । उनले भने, ‘पोलिटब्युरो बैठकले के सुझाव दिन्छ, त्यसपछि मात्रै यावत विषयहरूमा थप धारणाहरू बाहिर ल्याउनेछौँ ।’

तत्कालीन नेकपा विभाजनपछि एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी कांग्रेससँगको गठबन्धन टुटेपछि सरकारमा जाने कि नजाने भन्ने विषयमा अनिर्णीत बनेको छ । विशेष गरी एमालेसँगको शत्रुतापूर्ण सम्बन्धका कारण पनि एकीकृत समाजवादीलाई अफ्ठ्यारो परेको हो ।

एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीका नेताहरुले एमालेसँगको पार्टी एकता बाहिर हल्ला मात्रै भएको दाबी गर्दै आएका छन् । आइतबार स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी उपमहासचिव खतिवडाले एमालेसँगको पार्टी एकता बाहिरी हल्ला मात्रै भएको प्रतिक्रिया दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेरै सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

अध्यक्ष नेपालले पार्टीभित्र छलफल गरेर निर्णयमा पुग्ने जवाफ दिए पनि अहिलेसम्म निर्णय भैसकेको छैन । यसअघि पार्टीको पदाधिकारी बैठकले कांग्रेसको अहंकारका कारणले गठबन्धन टुटेको निष्कर्ष निकालेको थियो ।

    सम्बन्धित समाचार...