
तीन दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेको नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त देखिएको छ ।
तामझामका साथ प्रधानमन्त्री प्रचण्डले नवनिर्मित विमानस्थलको उद्घाटन गरेसँगै आन्तरिकतर्फको उडान नयाँ विमानस्थलमा सर्यो। फितलो व्यवस्थापनका कारण विमानस्थलको टर्मिनल भवनमा सयौं यात्रुले सास्ती भोगेका छन् । बाहिरबाट हेर्दा निकै भव्य देखिन्छ विमानस्थलको संरचना। तर आन्तरिक उडानतर्फको अवस्था भद्रगोल छ।
पुरानो विमानस्थलले सहजै व्यवस्थापन गरिरहेको यात्रुहरूलाई नयाँ विमानस्थलले धान्नै सकेको छैन। आज बिहान ८ बजे उडानका लागि डेढ दुई घण्टाअघि नै आएका यात्रु ३ वटा जहाज लगातार डिले भएका कारण काठमाडौं आउन पाएका छैनन् । १ बजेसम्म जहाज उड्ने टुंगो नभएको एक यात्रुले बताए ।
टर्मिनलमा यात्रुहरूको लामो लाइन छन् भने यात्रुहरूलाई बस्ने पर्याप्त भौतिक संरचना समेत छैन। तीन दिन भयो सो विमानस्थल सञ्चालनमा आएको। तर भौतिक संरचना फुट्न थालिसके।
ती यात्रुले गुनासो गरे, ‘विश्वका धेरै देशमा जहाजमा यात्रा गरेको थिएँ । तर, यहाँको विमानस्थल नयाँमै यस्तो बिजोक छ । सामान्य जानकारी लिन सहायता कक्षसमेत छैन । उडानबारे कसैले केही जानकारी दिएका छैनन् । अन्योलमा बसिरहेका छौं ।’
यात्रुहरूको व्यवस्थित बसाईको अभावमा टर्मिनल भवनमा कुनै हाटबजार लागे जस्तो भिडभाड छ ।
हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई पोखरा विमानस्थलमा यात्रु किन यसरी भद्रगोल ? पारेको भनी सोध्दा अहिले सुरूको चरण भएकाले केही कमजोरी भएको बताउँछन् ।
उनले भने, ‘केही दिनअघि मात्रै विमानस्थल सञ्चालनमा आएको हो । विस्तारै सबै काम मिलाउँदै जान्छौं । अहिले नै सेवा राम्रो भएन भन्ने बेला भइसकेको छैन । तर, यात्रुले भने सेवा राम्रो नभएर दु:ख पाएका छन् । मौसम र विमानस्थल व्यवस्थापनको कारण केही समस्या आएको हो । हामी यसलाई जतिसक्यो छिटो हटाउनेछौं ।’
चीनको २२ अर्ब रुपैयाँको ऋणमा बनेको सो विमानस्थलको निर्माण प्रक्रिया प्रारम्भदेखि नै विवादमा आइरहेको हो। लागतदेखि ठेक्का प्रक्रिया अनि चीनसँगको ऋणका सर्तहरू अझै विवादमा नै छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चीन नेपालले चीनसँग ऋण लिएको छ । यदी यो विमानस्थल राम्ररी सञ्चालन हुन नसके ऋण तिर्नसमेत समस्या पर्न सक्छ । नेपालले एक्जिम बैंकबाट २२ अर्ब रूपैयाँ ऋण लिएको छ । एक्जिम बैंकले दिएको कुल रकममध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत अनुदान रकम हो । ब्याज २ प्रतिशत तिर्नुपर्नेछ ।
यो ऋण २० वर्षमा चुक्ता गरिसक्नुपर्ने सहमति छ । ऋण लिएको ७ वर्ष पूरा भइसकेको छ । आउँदै चैतबाट किस्ता तिर्न सुरू गर्नुपर्ने हुन्छ ।
सो विमानस्थल चाइना सीएएमसी इन्जिनियरिङले बनाएको हो। परियोजनामा ०७४ कात्तिकदेखि ठेकेदार कम्पनीले विमानस्थल निर्माण सुरु गरेको थियो।
नेपालले चीनको एक्जिम बैंकसँग ऋण लिएको थियो। सो विमानस्थल चीनको बिआरआई रणनीति अनुसार निर्माण भएको चीनियापक्षको खुलासासँगै नयाँ विवाद सुरु भएकोमा व्यवस्थापनको कमजोरी समेत तीन दिनमै छरपस्ट भयो। विमानस्थल सञ्चालनमा दक्ष जनशक्तीको अभाव प्रष्टै खट्किन्छ आन्तरिकतर्फको ट्रमिनलमै भने अन्तराष्ट्रिय उडानतर्फको अवस्था के होला?
तर, यात्रुलाई राम्रो सेवा दिन नसक्ने हो भने समस्या पर्ने देखिन्छ । अन्तर्राष्ट्रिय उडानका लागि पनि हवाई सेवा प्रदायक कम्पनीहरूले पोखराबाट उडान भर्न खासै चासो देखाएका छैनन् ।

















