८ बैशाख २०८२, सोमबार

साना राजनीतिक दलहरुको नियत पनि उस्तै, सुधारकाे वकालत गर्नेले नै खाेजे ठूलाे भाग

kkkkk.jpg
फाइल फोटो

ठूला दलको कार्यशैलीको विरोध गर्ने साना राजनीतिक दलहरुको नियत पनि उस्तै देखिएको छ ।

भागबण्डा र राम्रालाई होइन, हाम्रालाई सम्भावनाको ढोका खोलिदिने ठूला दलका शैली नै राप्रपा, रास्वपा, नागरिक उन्मुक्ति, जसपा, जनमत पार्टीले मन्त्रिपरिषद्देखि प्रदेश सरकारमासम्म भाग खोजेका छन् । त्यतिमात्र होइन, उपराष्ट्रपतिदेखि उपसभामुखसम्म यीनै दललाई भाग चाहिएको छ । जनमत यही हो त ?

संसदको तेस्रो दल माओवादी केन्द्रले ६ दलको समर्थनमा सरकारको नेतृत्व सम्हालेको छ । २७५ सांसद रहेको प्रतिनिधि सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत , नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसद अमरेशकुमार सिंह, प्रभु साह र किरणकुमार साहको समर्थनमा प्रधानमन्त्री बन्नुभएको छ ।

७९ सांसद रहेको एमाले सत्तागठबन्धनको सबैभन्दा ठूलो दल हो । तर, सत्ता भागवण्डामा भने संसदमा कमजोर उपस्थिति रहेका दलहरुले दाबा बढी देखिन्छ । उनीहरुले उपराष्ट्रपति, उपसभामुखदेखि महत्वपूर्ण मन्त्रालय र प्रदेशमा समेत नेतृत्व मागेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी
२० सांसद रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनिसक्नुभएको छ । पार्टी स्थापनाको केही महिनामै प्राप्त सफलताले स्वतन्त्र पार्टी हौसिएको छ । उसले उपसभामुखसहित शिक्षा, कानून र स्वास्थ्य मन्त्रालय दाबी गरेको छ ।

जनता समाजवादी पार्टी
जनता समाजवादी पार्टीका १२ सांसद छन् । सरकारलाई समर्थन गरेपनि अहिलेसम्म यो पार्टीबाट कोही मन्त्री बनेका छैनन् । पूर्वउपप्रधानमन्त्री समेत रहिसकेका जसपा अध्यक्ष उपेन्द्र यादव आफू संसदमा नहुँदा पीडामा छन् । उनी आफु पनि संसदमा प्रवेश गर्नका लागि बाटो खुल्नेगरि बार्गेनिङमा छन् ।

यादवकै जोडबलमा संसदीय दलको नेता बनेका रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउन यादवको पहल छ । यादव उपराष्ट्रपति भए उहाँले जित हात पार्नुभएको बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने र त्यहाँबाट आफु संसद यात्रा तय गर्ने अध्यक्ष उपेन्द्र यादवको भित्रि मनसाय हो । केन्द्र बाहेक उसको दाबा मधेस प्रदेशको सरकारको नेतृत्वमा छ । प्रदेशमा जसपाका १६ सांसद छन् ।

जनमत पार्टी
६ सांसद रहेको सिके राउत नेतृत्वको जनमत पार्टी पनि अहिले सरकारमा छ । पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दूल खान विना विभागीय मन्त्री हुनुहुन्छ । जनमत पार्टीले उद्योग मनत्रालय पाउने सहमति भएको छ । संघमा अर्को मन्त्रालय र मधेस प्रदेशमा पनि आलोपालो सरकारको नेतृत्वको दाबा जनमतको छ । मधेस प्रदेशमा जनमतका १३ सांसद छन् ।

नागरिक उन्मुक्ति पार्टी
४ सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका रेशम चोधर रिहाइलाई सरकारमा जाने शर्त बनाएको छ । सरकारलाई समर्थन गरेको उन्मुक्ति पार्टीले चौधरीलाई रिहाई र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको छ । ५३ सदस्यीय प्रदेशसभामा उन्मुक्ति पार्टीका ७ सांसद छन् । चौधरीलाई रिहा नगरे प्रदेशसभा चल्न नदिने उसले चेतावनी दिइसकेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी
१४ सांसद रहेको राप्रपा पनि अहिले सत्तारुढ दल हो । पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते लाई राष्ट्रिय एकता दिवसमा मनाउनुपर्ने, सरकारको न्यूनतम् साझा कार्यक्रम बनाउनुपर्ने र कम्तिमा तीन मन्त्रालय पाउनुपर्ने राप्रपाको अडान छ । ७ दलको समर्थनमा बनेको सरकार लाई कतिपयले खिचडी सरकार पनि भनेका छन् ।

केन्द्रसँगै प्रदेशको मुख्यमन्त्री, सभामुख तथा मन्त्रालयहरुको भागवण्डा पनि सत्ताको नेतृत्व गरेको दल माओवादी र मुख्य घटक एमालेका लागि सहज हुने देखिँदैन । त्यसैले भागबण्डा र सत्तारुढ दलहरुको शर्त सम्बोधन गर्नुअघि नै विश्वासको मत लिएर प्रधानमन्त्री प्रचण्डले सुरक्षित बाटो रोज्नुले पनि सत्तागठबन्धनमा धेरै दल हुँदाको सकस प्रष्ट देखिएको छ ।

भागबण्डा नमिले सत्ता गठबन्धननै टुट्ने हो कि भन्ने चिन्ता पनि सुरु भएको छ । दलहरुको पहिले–पहिलेको अभ्यासले पनि भागवण्डा नै प्रधान बन्ने गरेको थियो । सुधारको कुरा गर्ने संसदका साना दलहरुले पनि त्यही लोभ देखाएका छन् ।