
चितवनमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको आज अन्त्येष्टि गरिएको छ ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि मृत्यु भएका भरतपुरका पुरुषको बागेश्वरी सामुदायिक वनमा अन्त्यष्टि गरिएको छ।
भरतपुरको आइसीयूबाट नेपाल आर्मीको कालीबहादुर गणको टोलीले निकालेर मृतक पुरुषको अत्येष्टि गरेको हो । उनको शवलाई जमिनमा गाडिएको छ।

भरतपुर–११ का ६८ वर्षीय ती पुरुषको जातीय संस्कार अनुरुप भरतपुर महानगरपालिका–१ स्थित बागीश्वरी जंगलको नारायणी नदी तटीय क्षेत्रमा अन्त्येष्टि गरिएको हो । बागेश्वरी सामुदायिक वन भित्र उनको धार्मिक परम्पराअनुसार अन्त्यष्टि गरिएको हो। मृतकका परिवारले पूजापाठ गरेपछि उनको शव गाडेर अन्त्येष्टि गरिएको छ ।

उनको परिवारको सल्लाह अनुसार शवलाई खाल्डो खनेर गाडिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘पहिला जलाउने भन्ने कुरा थियो, सोही अनुसार तयार पनि गर्यौ, पछि परिवारका सदस्यको सल्लाहमा खाल्डोमा गाड्ने कुरा भयो’ चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले भने, ‘एक्साभेटर लगेर खाडल खनेर गाडेका छौं ।’
भरतपुर अस्पतालको आईसीयूबाट नेपाली सेनाको टोलीले उनको शव उठाएको थियो । शवको अन्त्येष्टिमा उनका ज्वाई सहभागी भएको जनाइएको छ । मृतक वृद्ध भोजाडमा छोरी-ज्वाईको घरमा बस्दै आएका थिए । उनका छोरा विदेशमा छन् ।
मुटु, मधुमेह र उच्च रक्तचापका बिरामी वृद्धलाई चारदिन अघि नारायणी सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो । सोमबार साँझ भरतपुर अस्पतालको आईसीयूमा रिफर गरिएका संक्रमित वृद्धको मंगलबार विहान ७ बजे ६ मिनेट जाँदा मृत्यु भएको छ । उनी नेपालका चौधौ र चितवनको पहिलो कोरोना संक्रमित मृतक बनेका छन् ।
नेपाली सेनाको कालिबहादुर गणमा कार्यरत सैनिकको टोलीले भरतपुर अस्पतालको आइसीयूमा रहेको शवलाई उक्त स्थानमा लगेर गाडेका हुन्। हिजो नारायणी सामुदायिक अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमण पुष्टि भएका ती व्यक्तिलाई साँझ भरतपुर अस्पताल पुर्याइएको थियो। उनको मंगलबार बिहान मृत्यु भएको हो।