
सीमावर्ती जिल्लामा सुरक्षा चुनौती बढी हुने गरेको छ । अझ कतिपय आपराधिक घटनामा त भारतीय नम्बर प्लेटका गाडीको प्रयोग भएको खुलासा भएको छ ।
नेपालमा आएर अपराध गरी फरार हुने र परिचय लुकाउन सहज हुने ठानेर भारतीय नम्बर प्लेटका सवारीको प्रयोग गर्ने गरेको दाबी सुरक्षा अधिकारीहरुको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरी सार्वजनिक गरेका यी मुकुण्डो धारी चार जनाले आइतबार नेपालगञ्जको बीच बजारमै तीन जना युवालाई लखेटी-लखेटी खुकुरी प्रहार गरेका थिए ।
आफ्नो परिचय लुकाउन र आक्रमणपछि फरार हुन सहज होस भनेर सिमापारीबाट यूपी ३२ युपी ८६१६ नम्बरको भारतीय कार ल्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ । नेपालमा अपराध गरेर उनीहरु यही सवारी प्रयोग गरी भारततर्फ गए । तर उनीहरु गहुँ खेतमा सवारी साधन छाडेर लुक्ने प्रयास गर्दा-गर्दै पक्राउ परे ।
अपराधमा प्रयोग गर्न सिमापारीबाट ल्याएका गाडीको भन्सारसमेत हुँदैन । प्रहरीले नियन्त्रणमा लिएको यो कार पनि पुस ५ देखि ८ गतेसम्मको अनुमति लिएर नेपाल आएको देखिन्छ । तर १७ गतेसम्म अवैधरुपमा नेपालगञ्जमै घुमिरहेको थियो ।
२०६२ साल फागुन २२ गते राति संकटकालको समय नेपालगन्जको त्रिभुवन चोकमा सोनकार परिवारका ५ जनाको हत्या हुँदा पनि अपराधीहरुले भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेका थिए । तर प्रहरीले अहिलेसम्म त्यो अपराधमा संलग्न पत्ता लगाउन सकेको छैन । त्यति मात्र होइन, २०६४ असोजमा नेपालगन्जमा अब्दुल माजिद मनिहारलाई पनि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका व्यक्तिले हत्या गरेर फरार भएका थिए । यो घटना संलग्नको पनि पहिचान खुलेको छैन ।
दुई वर्ष यता तराईका धेरै जिल्लामा भारतीय नम्बर प्लेटका सवारीको चाप बढेको पाइन्छ । यसले सुरक्षा चुनौती बढेको छ । यस्तो अवस्थामा समेत अवैधरुपमा भित्रिएका सवारीसाधनलाई कानुनी दायरामा ल्याउने प्रयास भएको पाइँदैन ।