
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौंको माइतीघरमा चरणबद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छाडेर अनुसन्धानमा सघाउन आग्रह गरेका छन् ।
सरकारले उक्त घटनाबारे संवेदनशील भएर छानबिन अघि बढाउनुका साथै नेपाल प्रहीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विशेष टोली परिचालन गरी घटनाबारे छानबिन गरिरहेकाले धर्ना र आन्दोलनका सबै गतिविधि छोडेर छानबिनका लागि सहयोग गर्न गृहमन्त्री लामिछानेले आग्रह गरेका हुन् ।
आफू मन्त्री भएर आएपछि दुईपटक टेलिफोन गरी धर्नामा रहेकी रुबी खानलाई मन्त्री लामिछानेले यस घटनाबारे सरकार गम्भीर रहेको र दोषी पत्ता लगाउन आन्दोलन र धर्ना छोडेर प्रहरीलाई सघाउन आग्रह गरेका थिए ।
यसअघि गत सोमबार लामिछानेले गृह मन्त्रालयमा गृह-सचिव विनोदप्रकाश सिंह, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायत उच्च सुरक्षा अधिकारीसहितको छलफल गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएका थिए । सीआईबीले विशेष टोली परिचालन गरी घटनाको अध्ययन गरिरहेको छ ।
