
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठकले सरकारलाई विश्वासको मतका लागि अन्य राजनीतिक दलहरुलाई आग्रह गर्ने निर्णय गरेको छ ।
पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले बैठकमा सरकारले प्रस्तुत गर्न लागेको न्यूनतम साझा कार्यक्रमबारे पनि छलफल गरेको जनाए ।
बैठकमा पार्टीका तर्फबाट महामन्त्री एवं न्यूनतम साझा कार्याक्रम कार्यदलका सदस्य मुकुल ढकालले साझा कार्यक्रमबारे जानकारी गराएको पनि परियारले जानकारी दिए । उनले न्यूनतम साझा कार्यक्रममा आफ्नो पार्टीले अघि सारेका मुद्दाहरु स्थापित भएको दाबी गरे । बैठकमा नवनिर्वाचित सांसदहरुले आफ्नो गृहजिल्लाको भ्रमण गरेको बारेमा पनि जानकारी गराइएको थियो ।
‘आज हाम्रो संसदीय दलको बैठक सिंहदरबारमा बस्यो । हामीले विशेष गरी सरकारले प्रस्तुत गर्न लागेको न्यूनतम साझा कार्यक्रम छलफल भयो । पार्टीका तर्फबाट महामन्त्री मुकुल ढकाल जो न्यूनतम साझा कार्यक्रमको समितिमा सदस्य हुनुहुन्थ्यो । त्यसमा बनाउँदा के भयो भन्ने छलफल भयो । हाम्रा मुद्दा स्थापित भएका छन् त्यसको बारेमा छलफल भयो, गृहजिल्लामा सांसदहरुको अवस्था जनताको के छ भन्ने बारेमा छलफल भयो,’ उनले भने, ‘सरकारलाई विश्वासको मतका लागि अन्य राजनीतिक दलहरुलाई आग्रह गर्ने कुरा भयो ।’
सांसद परियारले पार्टीको संसदीय दलको बैठक सोमबार बिहान १० बजे पुनः बस्ने जानकारी दिए ।