
गुल्मीको रेसुंगा विमानस्थलमा परीक्षण उडान गरिएको छ । रेसुंगा नगरपालिकासँगको सहकार्यमा तारा एअरको परीक्षण उडान सफलतापूर्वक गरिएको हो ।
आइतबार बिहान ११:१४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाइन एन एएलओ ट्विनअटर-४०० वायुयान गुल्मीको रेसुंगा नगरपालिका-१० स्थित सिमिचौरमा निर्माण भएको विमानस्थलमा १२ बजे अवतरण भएको थियो । यसअघि पनि २०७५ जेठ २५ गते तारा एयरले नै परीक्षण उडान गरेको थियो ।
विमानलाई तारा एयरका वरिष्ठ चालकद्वय क्याप्टेन सन्तोषकुमार साह र क्याप्टेन सञ्जीव श्रेष्ठले उडान भरेको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
उनका अनुसार जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित सांसद नेपाली कांग्रेसका चन्द्र भण्डारी, नेकपा (एमाले) उपमहासचिव प्रदीप ज्ञवाली, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्की, नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्री, रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीलगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु सवार थिए । उडानबाट आएका सबैलाई माला लगाएर स्वागत गरिएको थियो ।
परीक्षण उडानमा रेसुंगा विमानस्थलमा ओर्लिएपछि पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता ज्ञवालीले फेसबुकमा स्टाटसहित तस्बिरहरु सार्वजनिक गरेका छन् । उनले हवाईजहाज चढेर राजधानी पुग्ने गुल्मेलीको चाहना पूरा भएको भन्दै लेखेका छन्-
लामो प्रतिक्षापछिको खुसीको क्षण ।
आफ्नै जिल्लाबाट हवाईजहाज चढेर राजधानी पुग्ने गुल्मेलीहरूको सपना पूरा हुँदै गरेको दिन ।
गुल्मी जस्तो पहाडी भूभागका लागि विमानस्थल र हवाईसेवा कुनै ‘लक्जरी’ का विषय होइनन्, आवश्यकताका पूर्वाधार हुन् । यी लाइफलाइन हुन् । पर्यटन विकासका आधार हुन् । राज्यले पूर्वाधारका क्षेत्रमा गरिने लगानीलाई नाफा नोक्सानको व्यापारी आँखाले मात्र हेर्नु हुन्न । आखिर पहाडी क्षेत्रमा सडकलगायत पूर्वाधारमा गरिएको लगानीमा पनि त नाफा नोक्सान हेरिँदैन नि ।
रेसुंगा विमानस्थलको परिकल्पना, शिलान्यास, निर्माण र सञ्चालनका हरेक क्षणमा निर्णायक भूमिका खेल्न पाउँदा गौरव लागेको छ । यस क्रममा खेप्नुपरेका आक्षेप, कटाक्ष र व्यङ्ग्यवाणका ढुंगाहरू बटुलेर जिम्मेवारीबोधको मन्दिर बनाएको छु ।
आशा गरौँ- छिटै व्यावसायिक उडान सुरू हुनेछ ।
विमानस्थल निर्माणका लागि घरजग्गा प्रदान गर्नु हुने सिमिचौरवासीहरू, निर्माण समिति, जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू, निर्माण व्यवसायीहरू, नेपाल नागरिक उड्डयन प्राधिकरण, २०७६ मा परीक्षण उडान र आज डेमो उडान गर्ने तारा एयर, विमानस्थलबारे निरन्तर कभरेज गर्ने सञ्चारकर्मीहरू, प्रहरी प्रशासन र सबै जिल्लावासीहरूलाई धेरै-धेरै धन्यवाद र बधाई !



