
जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले संघीय संसद्को रोस्टमबाट बोल्न पाउँदा आफूलाई गौरव लागेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सोमबार उनले जहाँ आफ्नो नाम लिन डराउने अवस्था थियो त्यहाँ पुगेर बोल्न पाउँदा गौरव महसुस भएको बताए । ‘जहाँ मेरो नाम लिन पनि डराउँथे त्यहाँबाट बोल्न पाउँदा गौरव महसुस भएको छ,’ उनले भने ।
उनले लोकतन्त्रको सौन्दर्य भनेको जतिसुकै धनी व्यक्ति गरिबको झुपडीमा झुकेर जानुपर्ने अवस्था रहेको पनि बताए । ‘यो लोकतान्त्रिक व्यवस्थाकै देन हो । अहिले धनाढ्यभन्दा धनाढ्य व्यक्ति पनि एउटा गरिबभन्दा गरिब व्यक्तिको झुपडीमा गएर नतमस्तक हुन बाध्य हुन्छन् । यो लोकतान्त्रिक व्यवस्थाको सुन्दरता हो,’ राउतले भने ।
उनले लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको पनि बताए ।