
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफू न्याय खोज्दै संसद्मा आइपुगेको बताएकी छन् ।
प्रतिनिधिसभाको बैठकमा सोमबार उनले नीति निर्माणको थलोमा आफूले न्याय खोजेको बताइन् । ‘
‘यो संसद्मा म पनि अवोध नै छु, भरखरै जन्मिएको शिशुको क्रन्दन, च्याहाँ-च्याहाँले आमा खोजेको संकेत गर्छ । हो सभाध्यक्ष महोदय म एक नारी माननीय स्वयं न्याय खोज्दै नीति निर्माणको थलो यो संसद्सम्म आइपुगेकी छु,’ उनले भनिन्, ‘कानुन, नीति निर्माण गर्ने थलोबाट संसद्को पहिलो दिनमै म न्यायको विषयमा कुरा गर्न चाहन्छु ।’
उनले टीकापुर घटनामा अदालतबाट दोषी ठहर भई जेलमा रहेका रेशम चौधरी निर्दोष रहेको प्रमाणसमेत संसद्मा पेस गरिन् । उनले रेशन निर्दोष रहेको र उनलाई विनाकारण राज्यले जेलमा राखेको दाबी गरिन् । अध्यक्ष श्रेष्ठले अविलम्ब रेशमको रिहाको मागसमेत संसद् बैठकमा राखिन् । रेशम र रञ्जिता श्रीमान्-श्रीमति हुन् ।