
प्रधानमन्त्री पुष्पकमल दाहालले विगतको भन्दा यसपटक आफ्नो कार्यकाल फरक हुने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा मंगलबार विश्वासको मत माग्दै प्रधानमन्त्री दाहालले सरकारहरू फेरिइरहने तर जनताको जीवनस्तर नफेरिने निराशाजनक चित्र अब बदल्न आवश्यक रहेको बताए । उनले आफू र आफ्नो सरकार संकल्पबाट नडगमगाउने र ढिलासुस्ती स्वीकार्य नहुने बताए ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएको बताए । उनले सरकारको गुण र दोष केलाएर विपक्षीको भूमिका निर्वाह गर्ने बताए ।
सत्तारुढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहाललाई कांग्रेसले पनि विश्वासको मत दिएकोमा शंका व्यक्त गरे ।
माओवादी केन्द्रकी सांसद रेखा शर्माले अधिकांश दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर राजनीतिक सहकार्यको सन्देश दिएको बताइन् ।
प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कुरा कम र काम बढी गर्न सुझाव दिए । राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्तिलगायतका दलले आफ्ना एजेन्डा पूरा गर्ने अपेक्षासहितको समर्थन गरे । मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले भने विपक्षीमा बस्ने भन्दै सरकारलार्इ समर्थन गर्न नसकिने बताए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले त प्रतिपक्षीविनै संसद्अगाडि बढाउने भन्ने विषय उपयुक्त नभएको भन्दै आफू एक्लै भए पनि खवरदारी गर्ने बताए ।
प्रधानमन्त्री दाहालले संसद्मा प्रतिनिधित्व गर्ने १२ मध्ये १० वटा दलको विश्वासको मत पाए ।