८ बैशाख २०८२, सोमबार

मन्त्रालयको भागबन्डा टुंग्याउँदै गठबन्धन

SattaGathabandan
फाइल फोटो

सत्ता गठबन्धन दल आज (बिहीबार) मन्त्रालय भागबन्डा टुंग्याउने तयारीमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएपछि सात दल सरकार विस्तारको गृहकार्यमा जुटेका हुन् ।

मन्त्रालयको भाग मिलाउन सत्तारुढ दलको बैठक बिहीबार बस्ने तय भएको छ । सरकार विस्तारबारे छलफल गर्न गठबन्धन दलको बैठक बस्ने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

पुस ११ गते शपथ लिएका प्रधानमन्त्रीले त्यही दिन आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक-एक जनालाई उपप्रधानमन्त्रीसहित मन्त्रालय दिए पनि बाँकी चार मन्त्रीले विभागीय जिम्मेवारी पाएका छैनन् ।

अब सरकारमा सामेल हुने दललाई कति मन्त्रालय र कुन-कुन दिने भन्ने छलफल गर्न हिजो (बुधबार) साँझ प्रधानमन्त्री दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोट पुगेरै छलफल गरेका थिए । मन्त्रिपरिषद् विस्तार र विश्वासको मत लिँदाको संशय मेट्न दाहाल आफैं ओलीसँग भेटवार्ता गर्न बालकोट पुगेका हुन् । दुई नेताबीच मन्त्रिपरिषद् तत्काल पूर्णता दिने सहमति जुटेको छ ।

यस्तै राष्ट्रपति, उपराष्ट्रपति तथा सभामुख चयनका विषयमा पनि छलफल भएको ओलीको सचिवालयले जनाएको छ । संसद् सचिवालयले सभामुखको निर्वाचन मिति माघ ५ गतेका लागि तोकिसकेको छ ।

सरकारमा पनि एमालेले आठ, माओवादी केन्द्रले ६, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ३-३, जसपाले दुई मन्त्रालय दाबी गरेका छन् । स्वतन्त्र सांसद पनि मन्त्रीका आकांक्षी हुन् ।

    सम्बन्धित समाचार...