
प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तर प्रदेशका मुख्य मन्त्री आदित्यनाथले नेपालका सम्बन्धमा दिएको अभिव्यक्ति आपतिजनक र निन्दनीय भएको बताएका छन् । ओलीले नेपाल हेपिन तयार नभएको र नहेपिने प्रष्ट हुन आग्रह गरेका छन् ।
आज (बुधबार) प्रतिनिधिसभा बैठकमा बुधबार बोल्दै उनले आदित्यनाथले बोलेको हो भने निन्दनीय भएको बताएका छन् ।
भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले तिब्बत प्रकरणमा जोडेर नेपालमाथि धम्की दिएको भन्दै सांसदले प्रश्न उठाएपछि जवाफमा ओलीले भने, ‘यदि उहाँले बोल्नुभएको हो भने जायज होइन । त्यसरी नेपाललाई धम्काउन खोजेको हो भने उचित होइन । अहिले त्यत्ति भनौं । उनी केन्द्रीय सरकारको निर्णायक व्यक्ति पनि होइनन् ।’
संसद बैठकमा उनले थपे, ‘बोलेको हो भने धम्की दिएको हो भने निन्दनीय विषय हो । नेपाल हेपिन तयार छैन । हेपिन मान्दैन भन्ने योगीलाई स्मरण गराउन चाहन्छु ।’
आदित्यनाथले नेपाल–भारत सीमाको विषय जोड्दै नेपालले तिब्बतको परिणामबाट चेतोस् भन्ने धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए ।
राष्ट्रियताको सवालमा सिंगो संसद एक, कसैले जस लिने विषय होइन
प्रधानमन्त्री ओलीले राष्ट्रियताको सबालमा सिंगो संसद एक भएर उदाहरण प्रस्तुत गरेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै उहांले राष्ट्रियताको विषयमा संविधान संशोधन कुनै एकलैले मात्र जस लिने विषय नभएको बताए ।
जनतालाई हानी नगर्ने विषयमा र अन्य कुरामा मतभेद भए पनि राष्ट्रियताको विषयमा एक भएको कुरा विगतदेखि नै देखिएको उनको भनाई थियो ।
राष्ट्रिय एकताप्रति राजनीतिक दलहरुको भूमिको उनले सराहना गरे । प्रधानमन्त्री ओलीले कोरोनाको रोकथाम नियन्त्रण र उपचारमा बजेट केन्दित रहेको बताए ।
कोरोनाबाट सबै क्षेत्रमा असर परेको भन्दै प्रयासहरु शतप्रतिशत ठिक नभए पनि प्रयास प्रभावकारी भएको जिकिर गरे ।
महामारीको विषयलाई दलीय हिसाबले मात्र नभई मानवीय हिसाले हेर्न आग्रह गरे ।