
जाडो सिजन उत्कर्षमा छ । कतै हिमपात भइरहेको छ, कतै कठ्यागि्रने चिसो छ । ठिक यही मेसोमा हामी माघे संक्रान्ति मनाउँछौं । माघ महिनाको पहिलो दिन यो पर्व मनाइन्छ, जसको अनेक नाम छन् । जस्तो माघे संक्रान्ति, मकर संक्रान्ति, माघी ।
माघे संक्रान्ति किन मनाइन्छ त ?
हाम्रा पूर्खाहरुले यो पर्व मनाउने चलन त्यसै सुरु गरेका होइनन् । माघे संक्रान्ति मनाउनुको खास अर्थ छ, सामाजिक, आर्थिक सबै दृष्टिले । यो पर्व स्वास्थ्य र समाजसँग पनि एकाकार छ ।
माघे संक्रान्ति भनेको जाडो याममा मनाइने पर्व हो, जसले जाडो यामको एक निश्चित परिवर्तनलाई संकेत गर्छ । ज्योतिष विज्ञानको मान्यता छ, यो दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छ । यो दिनदेखि सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फ प्रवेश गर्छ ।
माघे संक्रातिको साइनो खानपानसँग जोडिएको छ । यस दिन तरुल, घिउ, चाकु, तिलको लड्डु, खिचडी आदि खाइन्छ । ग्रामिण समाजमा के पनि प्रचलन छ भने, आफ्नो घरमा पकाएको खानेकुरा छिमेकीकहाँ बाढीचुडी खाने । यो चलनको पछाडि केही तथ्य लुकेको छ ।
तरुल वा कन्दमुल यो सिजनको मौसमी खानेकुरा हुन् । प्राकृतिक रुपमा उत्पादन भएको र मौसमी खानेकुरा स्वास्थ्यका लागि विशेष हुन्छ । अन्य बालीनाली नहुने र भण्डारण गरिएको खानेकुरा पनि सकिएको अवस्थामा कन्दमुल खाएर पनि प्राण धान्ने पुरानो चलनको निरन्तरता हो यो । अहिले पनि मौसमी चक्र अनुसार खानपान शैली अपनाउने हो भने कन्दमुल खानु निकै उपयोगी हुन्छ ।
यतिबेला घिउ, चाकु, तिलको लड्डु खाइन्छ, जसले शरीरलाई जाडोसँग जुध्न सहयोग गर्छ । अर्थात जाडोमा शरीरलाई न्यानो दिलाउनका लागि यी खानपान उपयोगी हुन्छ ।
माघे संक्रान्ति एक सांकेतिक पर्व हो, जसले फरक खानपान र जीवनशैलीमा हामीलाई प्रेरित गर्छ । यद्यपी हामी माघे संक्रान्तिको एक दिन मात्र यस्ता खानपान शैली अपनाउँछौं । जबकी जाडो याममा नियमित रुपमा कन्दमुल, चाकु, तीलको लड्डु, खिचडी खानु बढी लाभदायक हुन्छ ।
माघे संक्रान्तिको अर्को प्रचलन भनेको, एउटा घरमा पाकेको खानेकुरा छिमेकमा बाँडीचुडी खाने हो । खासगरी गाँउघरतिर विभिन्न परिकार पकाएर छिमेकमा पुर्याउने चलन छ । संभवत यो सिजन खाद्य संकट हुने र त्यसलाई टार्नका लागि आपसमा बाँढीचुडी खाने प्रचलन बसाइएको हुनुपर्छ । अहिले त्यस्तो अवस्था नहुन सक्छ । तर, यसले सामाजिक सद्भाव बढाउने काम गर्छ । अरुबेला कसको भान्साम के पाक्छ भन्ने थाहा हुन्न । यतिबेला एकआपसमा बाढ्ने भएकाले यसले सामाजिक सद्भाव कायम राख्न मद्दत गर्छ । यो भनेको समाजलाई एकाकार गराउने वा जोड्ने मेलो पनि हो ।
माघे संक्रान्ति: नेपालका भिन्न समुदायको साझा पर्व
माघ १ गते नेपालका अधिकांश जाति समुदायको साझा पर्वहरुको संगम हो । विशेष गरि हिन्दू, बुद्धमार्गी र किराँत समुदायको साझा पर्वको दिन हो माघ १ अर्थात माघे संक्रान्ति ।
हिन्दू समुदायले माघे सक्रान्ति अर्थात मकर संक्रान्तिका रुपमा रुपमा मनाउने यो दिनलाई मगर समुदायले माघे सकराती भनेर मनाउने गरेका छन् । त्यस्तै थारु समुदायले माघी र खिचरा पर्वका रुपमा मनाउने यो दिनलाई राई समुदायले येले थेचे र सुनुवार समुदायले सामी पिदार पर्वका रुपमा मनाउँछन् ।
नेपालका अधिकांश समुदायको साझा चाड रहेकाले माघे संक्रान्तिका दिन सरकारले सार्वजनिक विदा दिएको छ । समुदाय विशेषमा यो पर्व मनाउने तरिका भने फरक छ । तर सबैले आपसमा भेटघाट, रमाइलो र आफ्ना परम्परागत परिकारहरुका साथमा यो पर्व मनाउछन् ।
थारुको माघी महान पर्व
थारु समुदायले माघे संक्रान्तिलाई ‘माघी’ भन्छन् भने यो थारु समुदायका लागि महत्वपूर्ण चाड हो । माघी पर्व मेचीदेखि महाकालीसम्मका थारु समुदायले विशेष उल्लासका साथ मनाउँछन् । मध्य र सुदूरपश्चिमका थारु समुदायको बस्तीमा माघी उत्सव विषेश खालको हुने गर्छ ।
माघ १ गते थारु समुदायको नयाँ वर्ष सुरु हुन्छ । थारु समुदायमा ‘माघी पर्वमा पुरानो वर्षको समिक्षा र आगामी वर्षको लागि नयाँ योजना बनाउने काम गरिन्छ,’ दाङ क्षेत्रनम्बर एकबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मेटमणी चौधरी भन्छन्, ‘मान्यजनहरूसँग आशिर्वाद लिने, आफूभन्दा सानालाई आशिष दिने र सम्बन्धहरू नविकरण गर्ने दिन हो ।’
माघी मनाउन थारुहरु विदा लिएर टाढा-टाढाबाट आफ्नो गाउँघर फर्किन्छन् । चेलिबेटीहरूलाई घरमा बोलाउने, मिठा परिकार खाने-खुवाउने र नाचगान गाउने चलन छ । माछा, सुँगुरको मासु, मुसाको मासु, घोंगी, ढिक्री, जाँड, रक्सि थारु समुदायका विशेष परिकार हुन् । यी परिकार पकाउनका लागि आवश्यक सामाग्रीहरुको जोहो गर्न दुई महिनादेखि दौडधुप सुरु हुन्छ ।
थारु समुदायले गाउँको मुखिया चुन्ने काम पनि माघी संक्रान्तिमै गर्दछन् । साथै कमैया र कम्लहरी प्रथा नहटुन्जेलसम्म उनीहरुले काम जारी राख्ने कि छाड्ने निधो पनि यही दिनमा हुन्थ्यो । हाल कमलरी र कमैया प्रथा हटिसके पनि जमिन्दारहरुको खेतबारी जोत्ने (अधिया लगाउने) काम भने कायमै छ र यसको निर्णय पनि माघ महिनामै गर्ने चलन कायमै छ ।
माघ महिनामा मघौटा नाच नाच्ने गरिन्छ । सो नाचमा गाइने ‘सखिय हो, माघीक गुरी-गुरी जाँड’ भन्ने गीत निकै चर्चित पनि छ ।
किराँतको नयाँ वर्ष ५०७८
माघे संक्रान्तिसँगै सोमबारबाट किराँत नयाँ वर्ष ५०७८ पनि सुरु भएको छ । पूर्वमा ताप्लेजुङसँगै पाँचथर, तेह्रथुम, इलाम, धनकुटा र संखुवासभामा बसोवास गर्ने लिम्बू समुदायले सोमबार धुमधामका साथ किराँत नयाँ वर्ष मनाइरहेका छन् ।
किराँती राजा यलम्बरको शासन सत्तासँग इतिहास जोडिएको किराँत सम्बत नेपाल सम्बत भन्दा ३ हजार ४ वर्ष जेठो रहेको छ । माघे संक्रान्तिलाई किराँत लिम्बूहरुले यले तङबेसँगै ककफेवा तङनाम भनेर पनि मनाउने गर्छन ।
माघ १ बाट उच्च पहाडमा पाइने दुर्लभ प्रजातीको सेतो चाँप फुल्ने भएकाले मकर संक्रान्तीलाई ककफेवा तङनाम भनिएको हो । अाजको दिन लिम्बूहरु परम्परागत भेषभुषामा सजिएर आफन्तकहाँ जाने, धान नाच र च्याबु्रङ नाच्ने तथा मान्यजनका हातबाट बनतरुल पोलेर टिका ग्रहण गर्ने परम्परा रहेको छ ।
पाँचथरको फिदिम, शिलौती, लब्रेकुटी, काबेलीसँगै ताप्लेजुङ,,तेह्रथुम र धनकुटा सहित विभिन्न स्थानमा किराँत नयाँ वर्षका अवसरमा लिम्बू समुदायले खुशी साटासाट गरिरहेका छन् ।
हिन्दूको साँस्कृतिक चाड
माघे संक्रान्ती पर्वलाई स्थान विषेशअनुसार मनाउने चलन छ । पहाडी भूभागमा बस्ने ब्राम्हण समुदायले बिहानै नुवाई धुवाई गरेर खिचडी खाने गर्छन् । घ्यु, मासको दाल र चामल मिसाएर खिचडी बनाएर खाने चलन छ ।
घ्यु र चाकु पनि खाने चलन छ । पहाडी क्षेत्रमा विषेश त सखरखण्ड, तरुल र पिँडालु उसिनेर खाने चलन छ । कतिपयले घरमा मासको फुरौला पनि बनाउँछन् । दिउँसोको खाजाको रुपमा सेलरोटी पकाएर खाने चलन पनि छ ।
धार्मिक मान्यता अनुसार पनि माघ महिना विषेश हुन्छ । सामान्यतया पुस महिनामा विवाह व्रतबन्ध जस्ता कार्यक्रम नहुने हुँदा माघ सुरु भए लगत्तै विवाहलगायत शुभकार्य गर्ने चलन छ । गाउँघरमा माघ लागेपछि जाडो सकिएर गर्मी सुरु हुने विश्वास पनि छ ।