१५ बैशाख २०८२, सोमबार

जब विमान अवतरण हुन ७ मिनेट बाँकी थियो…

crs

आइबार बिहान काठमाडौंबाट पोखराका लागि ६८ जना यात्रु लिएर उडेको यति एयरलाइन्सको विमान पोखरास्थित सेती नदीको खोँचमा दुर्घटनामा पर्‍यो । विमानमा तीन बालबालिकासहित ६८ यात्रु र ४ जना चालक दलका सदस्यसमेत गरी ७२ जना थिए ।

यति एयरलाइन्सको एनवाइटी ६९१, एनए–एएनसी विमान पोखरामा अवतरण हुनुभन्दा ७ मिनेट अघि दुर्घटनामा परेको हो । मौसम खराब नभएको अवस्थामा विमान सन्तुलन गुमाएर खोँचमा बजारिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

विमानमा ५३ जना नेपाली र १५ जना विदेशी यात्रु थिए । यात्रुहरूमध्ये ५ जना भारतीय, ४ रुसी र २ कोरियन नागरिक पोखराका लागि उडेका थिए । एक/एक जना अस्ट्रेलियन, फ्रान्सेली र अर्जेन्टिनी नागरिक पनि सवार थिए ।

विमान बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट उडेको थियो । पोखरा टावरसँग १० बजेर ५० मिनेटमा विमान अन्तिम पटक सम्पर्कमा आएको थियो । काठमाडौं–पोखराको उडान समय २५ मिनेट हो । यो हिसाबले विमान अवतरण हुन ७ मिनेट मात्रै बाँकी थियो ।

विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती नदीको खोँचमा मानव बस्ती नजिकै दुर्घटनामा परेको हो । दुर्घटना भएको ठाउँमा आगोको मुस्लो देखिएको थियो । दमकलले निभाउने प्रयास गर्दा पनि नसकेपछि जलेर नष्ट भयो ।

घटनास्थलमा उद्धारका लागि ९ एनएएलएक्स र ९ एनएएलए दुईवटा हेलिकोप्टर परिचालन गरिएको थियो । काठमाडौं र पोखराबाट विमान दुर्घटना स्थलमा स्थानीयवासीको भीड लागेको देखिन्थ्यो । तर, आगो लागेको ठाउँमा उद्धार गर्न सक्ने अवस्था थिएन । उद्धारका लागि हेलिकोप्टरहरू तैनाथ गरिएको भए पनि यात्रुहरूको जीवितै उद्धार सम्भव भएन ।

यात्रुहरूको खोजी र उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र विमानस्थलस्थित रेस्क्यु एन्ड फायर फाइरिङ टिम परिचालित गरिएको थियो ।

विमान दुर्घटनाको खबर पाउनासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछानेले त्रिभुवन विमानस्थलको कन्ट्रोल रुममा पुगेर घटनाबारे जानकारी लिनुका साथै तत्काल उद्धारमा खटिन निर्देशन दिए ।

काठमाडौंमा रहेका यात्रुका आफन्तहरूले पोखरा जान चाहे पनि व्यवस्था नगरिएको भन्दै एयरलाइन्सप्रति असन्तुष्टि जनाए ।

पोखरा र काठमाडौं दुवै विमानस्थलमा यात्रुका आफन्तहरू भावविह्वल अवस्थामा देखिन्थे ।

५ सदस्यीय जाँचबुझ आयोग गठन

आइतबार दिउँसो बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । आयोगलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।

जाँचबुझ आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे छन् भने सदस्यहरूमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा र जहाज मर्मत सम्भार विज्ञ इन्जिनियर एकराज जंग थापा छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलाई सदस्यसचिव राखिएको छ ।

मन्त्रिपरिषद्को बैठकले आन्तरिक उडानका सबै विमानहरूको प्राविधिक परीक्षण गर्न विमान कम्पनीहरूलाई निर्देशन समेत दिएको छ ।

दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा सरकारले माघ २ गते सोमबार देशभर सार्वजनिक बिदासमेत दिएको छ ।

विमान दुर्घटनापछि पोखराका अस्पताल परिसरमा आफन्त तथा स्थानीयको भीड लागेको थियो । दुर्घटनाका मृतकलाई अस्पताल पुर्‍याइएपछि आफन्तहरू शोकाकुल अवस्थामा जम्मा भएका हुन् ।

दुर्घटनामा को को परे ?

दुर्घटनामा परेका नेपाली नागरिकको विवरण –

किसन आचार्य, निशान्त आचार्य, शालिग्राम आचार्य, पूर्णबहादुर गुरुङ, जितेन्द्रबहादुर कुँवर, अनिशा बानियाँ, श्लोक भट्ट, निरा छन्त्याल, आशिमा गुरुङ, अनुशा गुरुङ, बेलमान गुरुङ, विजय गुरुङ, जीवनकला गुरुङ, माया गुरुङ, रक्की गुरुङ, शिव गुरुङ, सीता गुरुङ, यमुना गुरुङ, यास्मिन गुरुङ, रबिन हमाल, सञ्जय जैसवाल, सोनु जैसवाल, रचना काफ्ले, सीता खड्का, अनिल कुमार राजभार, भगवती कुँवर, अभिषेक कुशवाह, ओम माया गुरुङ, सुस्मा पाण्डे, हरि परियार, क्रिश परियार, लक्ष्मी परियार, रीता परियार, अरुण पौडेल, लक्ष्मी पौडेल, प्रसिद्धि पौडेल, त्रिभुवन पौडेल, पूजन राना, सविना रायमाझी, राजन सापकोटा, अनिल शाही, संगीता शाही, आयुर्धी शर्मा, बबी शर्मा, जमुना शर्मा, विशाल शर्मा, युवराज शर्मा, मोहन श्रेष्ठ, सोना दिवाकर, बन्दना सुनार, सुशील श्रेष्ठ, राज ठकुरी, चुडा थापा, गणेश थापा, लबराज तिमिल्सिना

विदेशी यात्रु

सदाकत अलिमिया, भिक्टोरिया अलट्युनिना, एलेना बन्दुरो, रुअन कालुम क्रिघटन, एलेक्जेन्डर इसिडोर, मेरन लभ, युरी लेजिन, भिक्टर लेजिन, जनेटस्यान्ड्रा पेलेभ्सिनो, क्युङचुल यु, स्याङ्जेन यु,

चालक दलका सदस्यहरु

ओसिन आलेमगर, अन्जु खतिवडा, सृजना होङचुङ र कमल केसी