९ बैशाख २०८२, मंगलवार

आन्तरिक विमान दुर्घटनाको इतिहास: ६३ वर्षमा ५८ विमान दुर्घटना, ३ सय ८९ को गयो ज्यान

a

नेपालमा आन्तरिक विमान दुर्घटनाको इतिहास कस्तो छ त ? ६३ वर्षको अवधिमा नेपालमा आन्तरिकतर्फ ५८ वटा विमान दुर्घटना भइसकेका छन् । आइतबारबाहेकका दुर्घटनामा मात्रै ३ सय ८९ जनाको ज्यान गइसकेको छ । हवाई उडानसम्बन्धी अन्तर्राष्ट्रिय निकायले नेपालको हवाई सुरक्षाबारे उठाइरहने प्रश्नलाई बारम्बार हुने दुर्घटनाले बल पुर्‍याएको छ ।

हवाई यात्रा सबैभन्दा सुरक्षित मानिन्छ । यद्धपी बेलाबखत हुने हवाई दुर्घटनाले हामीलाई निकै चिन्तित बनाउने गर्छ । सन् १९ सय ६० देखि १९ सय ८७ सम्ममा नेपालमा जम्मा १० वटा आन्तरिक विमान दुर्घटना भएको इतिहास छ । यी दुर्घटनामा ८० जनाको ज्यान गएको थियो ।

सन् १९९१ पछि २०११ सम्ममा अर्थात् २० वर्षको अवधिमा नेपाली आकाशमा ३२ वटा विमान दुर्घटना भए । जसमा २ सय ३ जनाको ज्यान गयो ।

सन् २०१२ पश्चात् नेपालमा आन्तरिक उडानतर्फ वर्षैपिच्छे दुर्घटना

नेपाली आकाशमा हवाई यात्रा गर्नेहरूको संख्या बढेसँगै दुर्घटना पनि बढेको पाइन्छ ।

सन् २०१२ पश्चात् नेपालमा आन्तरिक उडानतर्फ वर्षैपिच्छे दुर्घटना भइरहेको छ । २०१२ मा मात्र जोमसोम, डोल्पा, र भक्तपुरमा गरी ३ वटा विमान दुर्घटना भए । जसमा ३४ जनाको मृत्यु भयो ।

सन् २०१३ मा जोमसोममा र सिमिकोटमा गरी २ वटा विमान दुर्घटना भए पनि मानवीय क्षति भएन ।

सन् २०१४ मा अर्घाखाँचीमा नेपाल एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गयो ।

सन् २०१६ मा म्याग्दी, कालिकोट र सिमिकोटमा गरी भएका तीनवटा दुर्घटनामा २५ जनाको ज्यान गएको थियो ।

सन् २०१७ मा लुक्ला र सिमिकोटमा भएको दुर्घटनामा २ जनाले ज्यान गुमाए ।

सन् २०१८ मा फेरि सिमिकोटमा दुर्घटना हुँदा २ जनाको ज्यान गयो ।

सन् २०१९ मा लुक्लामा भएको दुर्घटनामा ३ जनाले ज्यान गुमाएका थिए ।

२०२० मा नेपालगन्जमा भएको विमान दुर्घटना मानवीय क्षति भएन ।

२०२२ मा मुस्ताङमा भएको विमान तारा एयरको विमान दुर्घटनामा २२ जनाले ज्यान गुमाए।

२०२३ को सुरुवातमै आइतबार फेरि दुर्घटना भएको छ ।

नेपालमा भएका अधिकांश हवाई दुर्घटनामा मानवीय क्षति भएको छ । पटक पटक हुने यस्ता दुर्घटनाले नेपालको वायु सेवा नै असुरक्षित त होइन भन्ने प्रश्न उब्जिएको छ । दुर्घटनाको कारण पत्ता लगाएर जोखिम घटाउन सरकार र सेवा प्रदायक कम्पनी दुवै जिम्मेवार हुनुपर्ने देखिन्छ ।