
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री दाहाल अध्यक्ष ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका हुन् ।
मन्त्रिपरिषद विस्तारको तयारीमा रहेका प्रधानमन्त्री दाहाल विश्वासको मत लिएपछि अध्यक्ष ओलीलाई भेट्न दोस्रो पटक बालकोट पुगेका हुन् ।
सत्ता साझेदार दलहरुबीच सहमति जुट्न नसक्दा हालसम्म मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच मन्त्रिपरिषद विस्तारका साथै राष्ट्रपति र सभामुख निर्वाचनको विषयमा छलफल हुने जानकारी दिइएको छ ।
सोमबार बिहान १० : २० बजे बालकोट पुगेका प्रधानमन्त्री दाहाल बालकोटमै दिवा भोज गरेर फर्किने छन् ।
कांग्रेसलेसमेत विश्वासको मत दिएपछि प्रधानमन्त्री दाहालले राष्ट्रपति र सभामुख सन्दर्भमा कांग्रेससँग पनि सहमति खोज्ने बताउँदै आएका छन् । दाहालको अभिव्यक्तिलाई लिएर प्रमुख सत्तासाझेदार एमालेले भने संशय व्यक्त गरिरहेको छ ।
असाधारण विश्वासको मत पाएका दाहाललाई अहिले सत्ता साझेदार दलसँगै प्रतिपक्षी भूमिकामा रहेको कांग्रेसलगायतका दललाई पनि समेटेर अगाडि बढ्नु पर्ने अफ्ठ्यारो चुनौती छ ।
गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त दाहालले पुस २६ गते संसदबाट विश्वासको मत लिएका थिए । प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसलेसमेत समर्थन गरेपछि प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट २६८ सांसदको असाधारण समर्थन पाएका थिए ।