
प्रधानमन्त्री पुष्पकमल दाहालले आजै मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिएका छन् ।
मन्त्रिपरिषद्लाई पूर्णता दिने र शक्ति बाँडफाँडका विषयमा छलफलका लागि प्रधामन्त्री दाहाल सत्तासाझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए ।
बालकोटबाट निस्कने क्रममा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्ले आजै (सोमबार) पूर्णता पाउने बताएका हुन् । उनले संक्षिफ्त प्रतिक्रिया दिँदै भने, ‘सरकारले पूर्णता पाउने कुरा आजै टुंगो लगाउँछौं ।’
राष्ट्रपति र सभामुखबारे भोलि टुंगो लाग्ने दाहालको भनाइ छ । उनले भने, ‘भोलि विश्वासको मत लिने सबै पार्टीसँग बैठक छ । राष्ट्रपति र सभामुखका बारेका भोलि नै थाहा हुन्छ ।’
प्रधानमन्त्री दाहाल र ओलीबीच एक्लाएक्लै दुई घण्टा लामो छलफल भएको थियो । दाहाल ओलीबीचको दुई घण्टाको संवादपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल बालकोट पुगेका थिए । त्यसपछि दाहाल, ओली र पौडेलबीच छलफल भएको थियो ।