
यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये तीनवटा शव आफन्तको जिम्मा लगाइएको छ ।
कास्की जिल्लाका प्रहरी प्रमुख अजय केसीकाअनुसार पोस्टमार्टमपछि तीनवटा शव आफन्तको जिम्मा लगाइएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम सकेपछि आवश्यक प्रक्रिया पूरा गरेर हिजो (सोमबार) अबेरसम्ममा तीनवटा शव आफन्तको जिम्मा लगाइएको केसीले जानकारी दिए ।
आइतबार बिहान दुर्घटना भएको यती एयरलाइन्सको विमानमा चालक दलका चार सदस्यसहित कुल ७२ यात्रु सवार थिए । जसमध्ये हालसम्म ७० व्यक्तिको शव भेटिएको छ । प्रहरी प्रमुख केसीले भेटिएका सबै शवको कागजी प्रक्रिया सकिएको छ ।
पोस्टमार्टमको काम आज बिहान ८ बजेदेखि फेरि सुरु भएको छ । पोस्टमार्टमपछि शव आफन्तलाई जिम्मा लगाइने छ ।
विदेशी, चालक दल र पहिचान नभएका ४९ शव भने काठमाडौं पठाइने उनले जानकारी दिए । मौसम खुलेपछि ती शवलाई काठमाडौं पठाइने र त्यसका लागि नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ । शव लिन सेनाको हेलिकोप्टर सोमबारै पोखरा पुगेको थियो ।
दुर्घटनामा परेका दुई जनाको अवस्था भने अझै थाहा हुन सकेको छैन । उनीहरुको खोजी तथा उद्धार कार्य आज पनि जारी रहेको छ ।
काठमाडौंबाट पोखराको लागि आइतबार बिहान १० : ३३ बजे उडेको यती एयरलाइन्सको ‘एटीआर ७२’ विमान अवतरण हुनुभन्दा सात मिनेट अघि सेती खोंचमा दुर्घटनाग्रस्त भएको थियो ।