
नापोली कोपा इटालियाको अन्तिम १६ बाटै बाहिरिएको छ । इटालियन लिग सिरियाको लिग लिडर नापोली क्रेमोनेसेसँग पेनाल्टीमा ५ – ४ गोलले पराजित भएको हो ।
डियागो अरमाण्डा म्राडोना मैदानमा भएको खेलमा सिरियाको तालिकाको पुच्छारमा रहेको क्रेमोनेसेले अप्रत्याशितरुपमा अग्रता बनाएको थियो ।
चार्लस पिकलले १८ औँ मिनेटमा गोल गरेका थिए । ३३ औँ मिनेटमा युहान जेसुस र ३६ औँ जियोभानी सिमोनीले गोल गरेर नापोलीलाई पुनरागमन गराएका थिए । तर खेलको ८७ औँ मिनेटमा फेलिक्स अफेना ग्यानले गोल गरेपछि निर्धारित समय २ – २ को बराबरीमा पुग्यो ।
थपिएको समयमा पनि दुवै टोलीले गोल गर्न सकेनन् । त्यसपछि खेल टाइब्रेकरमा धकेलियो । टाइब्रेकरमा नापोलीका लागि स्टानिसलाभ लोबोट्काको प्रहार विफल भएको थियो । क्रेमोनेसेले पाँचवटै गोल गरेपछि सन् २०१९–२० को विजेता प्रतियोगिताबाट बाहिरिएको हो ।
इटालियन लिगमा गत शुक्रबार युभेन्टसमाथि ५ – १ गोलको जित हात पार्दै तालिकामा स्पष्ट ८ अंकको अग्रता बनाउन सफल भएको छ । यता क्रेमोनेसे लिगमा जितविहीन छ ।