
नेकपा एमालेले झापा – २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
एमाले प्रदेश १ को इन्चार्जसमेत रहेका घिमिरेको नाम सर्वसम्मत चयन भएको एमालेले जनाएको छ ।
सभामुखको निर्वाचनका लागि आज दिउँसो १ देखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । सभामुख चयनका लागि मतदान भने भोलि –बिहीबार) हुने छ ।
पार्टीबाट सर्वसम्मत उम्मेदवार बनेका घिमिरेले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हल पुगेर मनोनयन दर्ताको तयारी गरेका छन् ।
सभामुखमा उम्मेदवारी दिने वा नदिनेबारे भने नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ ।
सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसिरहेको बैठकले सभामुखबारे निर्णय लिनेछ ।
संसद बैठक सुरु भएको १५ दिनभित्र प्रतिनिधिसभाको सभामुख चयन गर्नु पर्ने संवैधानिक व्यवस्था छ । गत मंसिर ४ गतेको निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ गते बसेको थियो ।