
नेकपा एमालेका सांसद एवं नेकपा एमालेबाट सभामुखका उम्मेदवार देवराज घिमिरेले सभामुखमा आफ्नो जित निश्चित रहेको दाबी गरेका छन् ।
संसद् सचिवालय नयाँ बानेश्वरमा बुधबार सभामुखको उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग उनले विगतमा भएका कमजोरीबाट सिकेर अघि बढ्ने बताए । ‘म सभामुख हुने निश्चित छ । त्यसलाई विगतका अनुभव र शिक्षाबाट सिकेर व्यवस्थित गर्दै अघि बढ्नुपर्छ,’ उनले भने, ‘यो दलबाट विजयी बनेर होइन, सिंगो प्रतिनिधिसभाबाट विजयी भएर जाने हो । प्रतिनिधिसभाबाट विजयी भएपछि सभामुखले खेल्ने भूमिका के हुन्छ, त्यो भूमिकामा कमी नभई भूमिका खेल्छु ।’
आफू नर्वाचित भइसकेपछि सांसदहरुलाई सहमतिका साथ अघि बढाउने प्रतिबद्धता पनि जनाएका छन् । उनले सभामुख कुनै एक दलबाट नभइ सिंगो प्रतिनिधि सभाबाट चुनिएर जाने भएकाले सभामुखले खेल्ने भूमिकामा कमी नदिने गरी कार्य सम्पादन गर्ने बताए ।
सत्तारुढ दलहरुको साझा उम्मेदवार रहेका घिमिरेलाई एमाले उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले सभामुखका लागि प्रस्ताव गरेका छन् भने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डे, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले समर्थन गरेका छन् । प्रतिनिधिसभामा समामुखको निर्वाचन भोलि (बिहीबार) हुँदै छ ।
एमाले स्थायी कमिटी सदस्य घिमिरे पहिलोपटक झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । अहिले एमाले प्रदेश १ को पार्टी इन्चार्जको भूमिकामा रहेका घिमिरे २०५६ सालमै राष्ट्रियसभाको सांसद भएका थिए ।