
सरकार विरोधी प्रदर्शन बढेपछि गृह मन्त्रालयले कडा चेतावनी दिँदै विज्ञप्ति जारी गरेको छ । गृहले लकडाउन उल्लंघन गर्नेलाई कारबाहीको चेतावनी दिँदै बिहीबार विज्ञप्ति निकालेको हो।
संक्रामक रोग ऐन २०२० को दफा ३ को सजाय अन्तर्गत सम्बन्धित जिल्ला प्रमुख अधिकारिले रु १०० देखी ६०० सम्म जरिवाना र १ महिना देखी ६ महिना सम्म थुनामा राख्न सक्ने गरी कार्वाही गर्न सक्ने |
लकडाउनका लागि जारी गरिएका मापदण्ड विपरीत मानिसहरुले सुनियोजितरुपमा उल्लंघन गरिरहेको भन्दै संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने चेतावनी गृह मन्त्रालयले दिएको छ।
गृह मन्त्रालयद्धारा बिहीबार जारी विज्ञप्तिमा “विगत केही दिन अगाडीदेखि विभिन्न बहाना र माग राखेर सामाजिक सञ्जालबाट सर्वसाधारणलाई निश्चित स्थानमा जम्मा हुन आह्वान गर्ने, जुलुस प्रदर्शन, शान्तिपूर्ण धर्नाका नाममा धेरै व्यक्तिहरुलाई सहभागी बनाउने, ज्ञापन पत्र दिन जाने आदि जस्ता कामका नाममा अनावश्यक भिडभाड गरी अप्रत्यक्ष रुपमा बन्दाबन्दीको आदेशको अवहेलना हुने गरी देखाएको प्रवृत्तिप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, भनेर उल्लेख गरेको छ।
लकडाउनलाई बाधा पुग्ने गरी काम गरेमा प्रजिअले कारबाही गर्न सक्ने गृहको भनाइ छ। गृहले लकडाउनका बेला घरमै बसेर गरेको सहयोगप्रति नागरिकलाई धन्यवाद दिएको छ।
