
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पक्षमा समर्थन जुटाउने प्रयासमा आजैदेखि जुट्ने जनाएका छन् ।
प्रतिनिधिसभाबाहिर बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिलेसम्म राष्ट्रपतिका लागि सहमति नभएकाले कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने उनको भनाइ छ । गठबन्धन कायम रहिरहेको अवस्थामा कांग्रेसले आफ्नो उम्मेदवार जिताउन मुस्किल भए पनि उम्मेदवारी दिएर समर्थन जुटाउन खोज्नु स्वाभाविक भएको पौडेल बताउँछन् ।
‘गठबन्धन कायम रहिरहेको अवस्थामा कांग्रेसले आफ्नो उम्मेदवारलाई जिताउन मुस्किल छ । त्यस कारण नयाँ शिराबाट हामी अघि बढ्नु स्वभाविक हो,’ उनले भने, ‘निर्वाचनमा उम्मेदवार खडा गरेपछि जिताउन मतदातासँग मत माग्नु स्वभाविक हो । हामीले प्रतिपक्षमै बसेर विश्वासको मत दिने भनेका हौं । हामीले सत्ता पक्ष भएर विश्वासको मत दिएको होइन ।’
प्रधानमन्त्री दाहालले सहमतिका आधारमा अघि बढ्ने बताएको हुँदा कांग्रेसले विश्वासको मत दिएको उनको भनाइ छ । ‘प्रधानमन्त्रीले सहमतिका आधारमा अगाडि बढ्ने अभिव्यक्ति भयो । त्यहीअनुसार कांग्रेसले विश्वासको मत दिएको अवस्था हो,’ उनले भने, ‘नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिन्छ । अहिलेसम्मको अवस्थामा सहमति हुने अवस्था देखिँदैन । तर राष्ट्रपतिका लागि प्रयास गर्ने उम्मेदवारलाई जिताउन सर्मथन जुटाउने आजदेखि प्रयास गर्छौं ।’
सहमतिका आधारमा अगाडि बढ्ने प्रधानमन्त्रीको अभिव्यक्तिअनुसार कांग्रेस अघि बढेको उनले जनाए ।