
सर्वोच्च अदालतको फैसलापछि शुक्रबार बाध्य भएर राजीनामा दिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने आइतबार दिउँसो नागरिकता पुनः प्राप्त गर्नासाथ पार्टी सभापतिमा पुनर्बहाली भए । त्यसलगत्तै उनी प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगे । रवि बालुवाटार पुग्दा त्यहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगिसकेका थिए । केपी ओली बाहिरिएपछि प्रधानमन्त्री र रवि लामिछानेबीच भेट भएको हो ।
उच्चस्तरीय स्रोतका अनुसार आफूलाई पुनः गृहमन्त्री बनाउन माग गर्दै लामिछाने बालुवाटार गएका हुन् । लामिछानेलाई उपप्रधान तथा गृहमन्त्रीमा पुनर्बहाली गर्न एमाले अध्यक्ष ओलीले पनि प्रधानमन्त्रीलाई दबाव दिएका छन् ।
लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलका अनुसार पार्टीले आज गरेको निर्णयबारे प्रधानमन्त्रीलाई जानकारी दिन उनी बालुवाटार पुगेका हुन् । आजै बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले लामिछानेलाई सभापतिमा पुनः नियुक्ति गर्नुका साथै उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा दाबी गर्ने निर्णय गरेको थियो । यही दाबी गर्नका लागि लामिछानेले प्रधानमन्त्री दाहाललाई भेटेका हुन् ।
बालुवाटार स्रोतका अनुसार शुक्रबार राजीनामा बुझाउँदै गर्दा उपप्रधान र गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीले नै पाउनुपर्ने रविले प्रधानमन्त्री दाहालसँग माग गरेका थिए । तर, प्रधानमन्त्रीले गृहमन्त्रालयले आफैंसँग रहने जवाफ दिएका थिए ।
नेपाली नागरिकता पुनः कायम गरिसकेपछि केन्द्रीय समितिको बैठक राखेर हठात् पार्टी सभापतिमा फर्किएका लामिछानेले आफूलाई उपप्रधाधन तथा गृहमन्त्रीमा फर्काउन प्रधानमन्त्री दाहालसँग प्रस्ताव गरेको बालुवाटार स्रोतको भनाइ छ ।
तत्काल उपप्रधान तथा गृहमन्त्री बनाउने र केही महिनापछि चितवन २ बाट सांसद जितेर आउने रविको योजना रहेको छ । संविधानतः प्रतिनिधिसधा सदस्य नरहेको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउने भएकाले सोही प्रावधानमा टेकेर रविले पुनः गृहमन्त्री दाबी गरेका हुन् ।
एमाले अध्यक्ष ओलीले पनि रविलाई पुनर्बहाली गर्न प्रधानमन्त्रीलाई दबाव दिएको सत्तारुढ माओवादीका नेताहरुको भनाइ छ । माओवादीका एक नेताका अनुसार यसअघि पनि केपी ओली, रवि लामिछाने र राजेन्द्र लिङदेनले दबाव दिएपछि रविलाई गृहमन्त्री बनाउन दाहाल तयार भएका थिए ।
तर, अब भने रविको पासपोर्टमाथि प्रहरीले गरिरहेको अनुसन्धान र सर्वोच्चको फैसलाको पूर्णपाठ नआएसम्म रविलाई गृहमन्त्री नबनाउने अडानमा प्रधानमन्त्री दाहाल रहेको माओवादी नेताहरुको दाबी छ ।