
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार पुरानो नागरिकता कायम गराउँदा मतदाता नामावलीका लागि फोटो खिचाएसँगै उनको मतदाता नामावली पुरानै कायम हुने कि नयाँ बनाउने भन्नेमा अन्योल देखिएको छ ।
लामिछानेले काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा पुगेर हिजो मात्र पुरानै नागरिकताको नम्बरमा नयाँ जारी मिति राखिएको थियो । नयाँ मिति राखेसँगै उनको मतदाता नामावली पुरानो राख्ने कि नयाँ बनाउने भन्नेमा जिल्ला प्रशासन कार्यालय र निर्वाचन आयोग अन्योलमा परेको हो ।
सर्वोच्च अदालतको फैसलाले लामिछानेको सांसद पद खारेज गरेसँगै चितवन २ मा उपनिर्वाचन गर्नुपर्ने भएपछि उनको मतदाता नामावलीलाई लिएर अन्योल बढेको छ । उपनिर्वाचनमा उम्मेदवार हुन चाहेमा अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने प्रावधान छ । मतदाता नामावली बनाउन लामिछानेले आयोगबाट जानकारी लिनुपर्नेछ ।