
सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रीहरुले संविधानको मूल्य र मान्यताविपरीत फेरि टिप्पणी गरे स्वीकार्य नहुने चेतावनी दिएका छन् ।
सरकारका केही मन्त्रीहरुले संघीयताविरुद्ध अभिव्यक्ति दिइरहेका बेला उनको यस्तो धारणा आएको हो । प्रतिनिधिसभा बैठकमा बुधबार विशेष समय लिएर सांसद बस्नेतले मन्त्रीहरुलाई संविधानको मूल्यभन्दा बाहिर गएर अभिव्यक्ति दिने काम फेरि नगर्न सचेत गराए ।
उनले सरकार संविधान कार्यान्वयन गर्ने निकाय भएकाले त्यसमा रहेका मन्त्रीहरुले त्यस्ता खालका गल्ती गर्न नहुने स्पष्ट पारे । ‘संसदमा यो विषयमा बहस एक हदसम्म स्वीकार्य पनि छ । सडकमा यसको बहस एक हदसम्म स्वीकार्य पनि होला । हरेकले आ-आफ्नो मूल्य र मान्यतालाई स्वीकार गरेर अघि बढ्लान्,’ उनले भने, ‘सरकार संविधानको कार्यान्वयन गर्ने संस्था क्याबिनेट र क्याबिनेटका सदस्यहरुले संविधान संविधानका मूल्यभन्दा बाहिर गएर गर्ने टिप्पणी स्वीकार्य हुन सक्दैन । र, यस्ता प्रकारका गल्तीहरु आगामी दिनमा नहून् । यस्ता कुरालाई सच्याइयोस् भन्ने कुरा सभामुख महोदयमार्फत राख्न चाहन्छु ।’
सांसद बस्नेतले राजनीतिक दलहरुलाई आ-आफ्नो दृष्टिकोण स्थापित गराउने छुट भए पनि सरकारमा रहेका मन्त्रीहरुलाई जथाभावी बोल्ने अनुमति संविधानले नदिएको पनि स्मरण गराए । उनले परिवर्तनकारी शक्तिहरुलाई स्वीकार गर्ने आँट नभएकाले पनि मुलुकमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा भने परिवर्तन आउन नसकेको दाबी गरे ।