
फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेनले मोपिलियलाई ३ – १ गोलले पराजित गर्दा स्टार स्ट्राइकर केलियन एम्बाप्पे घाइते भएका छन् ।
गएराति भएको खेलमा फ्रेन्च फरवार्ड एम्बाप्पेले सुरुवातमै दुई पेनाल्टी चुकाए ।
आठौं मिनेटमा एम्बाप्पेले प्रहार गरेको पहिलो प्रहार गोलकिपरले बचाए । रिटेक पेनाल्टीमा पनि एम्बाप्पे सफल भएनन् ।
२१ औं मिनेटमा उनी ह्यामस्ट्रीमा चोट लागेपछि मैदान बाहिरिएका थिए । पहिलो हाफमा गोल हुन सकेन ।
लियोनल मेसीले गोल गरेपनि अफसाइड भयो । ५५ औँ मिनेटमा फाबियन रुइजको गोलमार्फत पीएसजीले गोलको खडेरी तोड्यो ।
७२ औँ मिनेटमा मेसीले अग्रता दोब्बर पारे । ८९ औँ मिनेटमा अर्नड नोविनले पीएसजीविरुद्ध गोल फर्काए । तर इन्जुरी समयमा वारेन जाइर एम्रेको गोलसँगै पीएसजीले ३ – १ को जितका साथ खेल टुंग्यायो । शीर्ष स्थानको पीएसजीको २१ खेलबाट ५१ अंक छ । दोस्रो स्थानको मार्शे पाँच अंकले पछि छ ।