९ बैशाख २०८२, मंगलवार

करदाताको संख्या घट्दो मधेस प्रदेशमा, राजश्व असुली निराशाजनक

ird janakpur

मधेस प्रदेशको राजधानी जनकपुरधाममा नियमित करदाताको संख्या घट्दै गएको छ । आन्तरिक राजश्व कार्यालयको नियमित सम्पर्कमा नआउने करदाता ७० प्रतिशतभन्दा बढी छन् । यसले गर्दा राजश्व असुली निराशाजनक रहेको छ ।

मधेस प्रदेशको राजधानी जनकपुरधाम हो । यहाँ आयकर तिर्नेको सूचीमा ३४ हजार ९ सय ८ जनाको नाम छ । मूल्य अभिवृद्धि कर भ्याटमा ७ हजार ५ सय २८ जना व्यापारी आवद्ध छन् । त्यस्तै अन्तशुल्कमा १ हजार ४ सय ४६ का साथै संस्थागत र व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ७३ हजार ५ सय ६५ छ । तर ७० प्रतिशतभन्दा बढी करदाता न त समयमा कर विवरण दाखिला गर्छन् न त कार्यालयको सम्पर्कमा नै आउँछन् ।

प्रत्येक महिना आफूले बुझाउनुपर्ने कर निर्धारण गरी सो महिना सकिएको ३५ दिनभित्र आन्तरिक राजश्व कार्यालयमा कर विवरण बुझाउनुपर्ने कानुनी प्रावधान छ । तर, आवश्यकता परेमा कानुनी प्रक्रिया पूरा गरी करमा दर्ता गराउने र समयमा कर दाखिला नगर्नेको संख्या बढ्दो छ । स्थायी लेखा नम्बर र मूल्य अभिवृद्धि करको प्रमाणपत्र जारी गरेसँगै कर शिक्षा पनि दिनुपर्ने व्यवसायीको सुझाव छ ।

उद्योगी व्यवसायीले समयमा कर नबुझाउँदा लक्ष्यअनुसारको राजश्व सङ्कलनमा समस्या त हुन्छ नै बक्यौता बढ्दै गएपछि भविष्यमा करदातामाथि दायित्व थपिँदै जाने र सम्पत्ति बेचेर भएपनि कर बुझाउनुपर्ने बाध्यता आइलाग्छ । त्यसो हुन नदिन संगठनहरूसाग समन्वय गरी सरकारले नै करदातामैत्री वातावरण बनाउनुपर्ने आवश्यकता देखिन्छ ।

मधेश प्रदेशको धनुषा, महोत्तरी, सर्लाही र वागमती प्रदेशको सिन्धुली जिल्ला कार्यक्षेत्र रहेको आन्तरिक राजश्व कार्यालयलाई लक्ष्यअनुसारको राजश्व असुली गर्न हम्मे परेको छ । जम्मा ३ अर्ब ७० करोड ६८ लाख १० हजार लक्ष्य लिएको राजश्व कार्यालयले पौष मसान्तसम्म ३७.७६ प्रतिशत मात्र राजश्व असुली गर्न सफल भएको छ ।

    सम्बन्धित समाचार...