
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिँदैछन्।
गत २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका उनले २७ माघ अघि नै विश्वासको मत लिइसक्नु पर्ने भएकाले आज अन्तिम दिन हो ।
संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएको एक महिना भित्र विश्वासको मत लिइसक्नु पर्ने व्यवस्था छ ।
विश्वासको मत लिन आज दिउँसो १ बजे प्रदेशसभाको बैठक बस्दैछ । यसअघि बुधबारका लागि तय भएको बैठक विश्वासको मत नपाउने अवस्था सिर्जना भएपछि स्थगित गरिएको थियो ।
मुख्यमन्त्री रावलको भविष्य नागरिक उम्मुक्ति पार्टी (नाउपा) को हातमा रहेको छ । आफ्ना माग सरकारले सम्बोधन नगरेको भन्दै नाउपाले विश्वासको मत दिने/नदिने विषयमा अनिर्णित हुँदा रावलमाथि संकट आइपरेको हो ।
नाउपाले जेलमा रहेका पार्टीका संरक्षक रेशम चौधरीसहित ६ जना नेताको रिहालाई मुख्य सर्त बनाएको छ । मुख्यमन्त्री नियुक्तिका बेला समर्थन गरेको नाउपाले विश्वासको मत नदिएको अवस्थामा रावल पदमुक्त हुनेछन् ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीका ११, एमालेका १०, नाउपाका ७ र राप्रपाका १ सांसद छन् ।
नाउपाका ७ सांसद अहिले केन्द्रीय राजधानी काठमाडौंमा छन् । उनीहरु प्रदेशमा नर्फिएका कारण बुधबारको बैठक स्थगित भएको थियो । आज (बिहीबार) पनि उनीहरु प्रदेश फर्किछन् वा फर्किदैनन् टुंगो नभएको एक नेताले बताए ।
काठमाडौं पुगेका उनीहरुले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र नेता रेशम चौधरीलाई जेलमै पुगेर भेटेका छन् । अध्यक्ष श्रेष्ठले प्रदेश सांसदहरु आज धनगढी फर्किन सक्ने संकेत गरेकी छन् । यद्यपि, विश्वासको मत दिने वातावरण भने अहिलेसम्म नबनेको उनको भनाइ छ ।
एमाले नेताहरु भने मुख्यमन्त्री रावलले विश्वासको मत पाउनेमा विश्वस्त छन् । प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा नाउपाका नेताहरुसँग कुराकानी भइरहेकाले विश्वासको मत दिने वातावरण बन्ने एमाले महासचिव शंकर पोखरेल बताउँछन् ।
विश्वासको मत दिने वातावरण निर्माणका लागि नाउपासँग निरन्तर वार्ता भइरहेको र सुदूरपश्चिम सरकार जोगाउने विषयमा शीर्ष तहका नेताहरुबीच पनि छलफल भइरहेको एमाले नेताको भनाइ छ । आज बस्ने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा समेत यस विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।