
एमाले नेतृत्वमा बनेको सरकारले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिक ठूलो दलको हैसियतमा नेपालीका कांग्रेसका तर्फबाट कमलशाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
बिहीबार साँझ ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा शाहले दावी पेश गरेका थिए । अछाम जिल्ला रामारोशन गाउँपालिका–५ तडिगैरामा २०२८ साल फागुन १० गते जन्मेका शाह हाल कैलालीको लम्की चुहा नगरपालिका–१ मा स्थायी रुपमा बसोवास गर्दै आएका छन् ।
उनले विद्यालय शिक्षा अछाम र कैलालीबाट अघि बढाएका थिए । शाह २०४४ सालदेखि नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय रहेका थिए । शाहले २०४६ सालदेखि २०५२ सालसम्म नेपाल विद्यार्थी संघको क्याम्पस इकाइ समिति सदस्य र पार्टीको महाधिवेशन प्रतिनिधि भएर काम गरेका थिए ।
त्यसैगरी उनले २०५४ सालदेखि २०६८ सालसम्म विभिन्न समयमा नेपाल तरुण दलको केन्द्रीय खेलकुद विभिग सदस्य, केन्द्रीय कोषाध्यक्ष, केन्द्रीय सचिव र केन्द्रीय उपाध्यक्ष पदमा रहेर पनि काम गरेका थिए । उनी २०५३ सालदेखि हालसम्म नेपाली कांग्रेसको नौं, दशौं, एघारौं, बाह्रौं, तेह्रौं र चौधौं महाधिबेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहेका छन् ।
शाह २०७० सालमा भएको संविधान सभाको दोस्रो निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट उम्मेदार रहे पनि पराजित भएका थिए । उनी २०६४ र २०६२/०६३ सालको जनआन्दोलनका क्रममा पटक पटक गरी ४ महिना जेल परेका थिए । हाल लम्कीचुहा–१ लम्कीमा बस्दै आएका उनी मंसिरमा ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र ‘क’ बाट निर्वाचित भएका थिए । प्रदेश सभामा निर्वाचित भएसँगै कांग्रेस संसदीय दलको नेता हुँदै शाह मुख्यमन्त्री बनेका हुन् ।
सरल, शिष्ट, जिज्ञासु, सहयोगि स्वभावका शाहले आफ्नो ठाउँका लागि थुप्रै सहयोग तथा विकासका काम गर्दै आएका छन् । उनले कोरोना संक्रमणकालमा कैलाली क्षेत्र नम्बर २ का सबै स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्ंयम सेवीकाको नि:शुल्क कोरोना विमाका साथै सोल्टामा रहेको स्वास्थ्य चौकीलाई नि:शुल्क एम्बुलेन्स सेवा प्रर्दान गरेर सहयोग गरेका थिए ।
शपथग्रहण शुक्रबार
नवनियुक्त मुख्यमन्त्री शाहको शपथग्रहण भोलि (शुक्रबार) हुने भएको छ ।
सुदुरपश्चिम प्रदेश सभा सचिवालयका अनुसार नवनियुक्त मुख्यमन्त्री शाहले पद तथा गोपनियताको सपथ भोली लिने गरी कार्यक्रम तय गरिएको छ।
नेपाली कांग्रेसका संसदीय दलका नेता शाहलाई प्रदेश प्रमुख देवराज जोशीले बिहीबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
एक महिना अघि नेकपा एमालेवाट मुख्यमन्त्री नियुक्त भएका राजेन्द्र रावलले आजको प्रदेशसभा बैठकमा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख देबराज जोशीसमक्ष मुख्यमन्त्रीको राजीनामा बुझाएका थिए ।
लगत्तै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठुलो दलका कांग्रेस प्रदेश संसदिय दलका नेता शाहले मुख्यमन्त्रीमा दावि पेश गरे लगत्तै प्रदेश प्रमुख जोशीले उनलाई नियुक्त गरेका हुन ।
मुख्यमन्त्रीमा नियुक्त भएका शाहको शुक्रबार शपथ ग्रहण हुन लागेकाे हाे ।