
प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उच्चस्तरीय संयन्त्रका संयोजक एवं एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी छन् ।
संयन्त्रको बैठकमा गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका शीर्ष नेताहरु भने अनुपस्थित छन् । यी दलका कोही पनि प्रतिनिधि बैठकमा सहभागी भएका छैनन् । गत शुक्रबारको बैठकमा पनि उनीहरु सहभागी भएका थिएनन् ।
आसन्न राष्ट्रपति निर्वाचनको उम्मेदवार, पछिल्लो राजनीतिक अवस्थालगायतको विषयमा छलफल भइरहेको जनाइएको छ ।
आगामी फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ ।
रास्वपा सत्ताबाट बाहिरिएपछिको विकसित राजनीतिक घटनाक्रमका साथै राष्ट्रपतिको उम्मेदवारको विषयले अहिले सत्ता गठबन्धनमा खटपट सुरु भएको छ ।
पछिल्लो समय प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच चिसोपन बढ्दै गइरहेको छ । यद्यपि, दुई नेताबीच निरन्तर भेटघाट भने हुँदै आएको छ । दाहाल-ओलीबीचको पछिल्लो समयका अधिकांश भेट औपचारिकतामा सीमित हुन बाहेक ठोस उपलब्धीमूलक बन्न सकेको छैन ।